बुटवल, कात्तिक । प्रदेश पाँच सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले अहिलेसम्म १५ वटा कानुन निर्माण गरिसकेको र एक सय १६ वटा कानुनका विषय पहिचान गरेको वताउनु भएको छ ।
उहाँले कानुन निर्माणमा सरकारले सरोकारवालाहरुसँग छलफल गर्ने गरेको बताउँदै सरकारले कानुन निर्माण गरेपछि संसदले पारित गर्ने भएकाले त्यो प्रक्रियामा सांसदहरुले सक्रियताका साथ सहभागिता जनाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
प्रदेश ५ सरकारले निर्माण गरिरहेको संघ संस्था सम्बन्धि विधेयकमाथि मंगलबार बुटवलमा गरिएको परामर्श कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कतिपय अवस्थामा संसदले कानुन पारित गर्दा पनि जानकारी नहुने अवस्था हुने भएकाले कानुन पारित गर्नुअघि सांसदहरुले छलफलमा सक्रियताका साथ सहभागीता जनाउनु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश पाँच नेपाली काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले संघ संस्था सम्वन्धि मस्यौदा विधेयकको रुपमा संसदमा आएपछि छलफल गरेर पारित गर्ने वताउनु भयो । प्रदेश पाँचका सांसद एवं अर्थ तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले संघ संस्था सम्वन्धि विधेयक प्रदेश सभामा आएपछि त्यसलाई संघ संस्थाको प्रकृति अनुसार छलफल अघि बढाउने वताउनु भयो । प्रदेश संसदको सामाजिक विकास समितिका सभापति दिर्घनारायण पाण्डेले बोल्दै कुनैपनि कानुन पारित गर्नुअघि प्रदेश सभाले व्यापक छलफल गरि पारित गर्ने जानकारी दिनुभयो ।
उता कार्यक्रमका सहभागीहरुले गैरसरकारी संस्थालाई नियन्त्रण मात्रै गर्ने गरि कानुन निर्माण नगर्न आग्रह गरेका छन । अहिले प्रदेश सरकारले संघ संस्था सम्बन्धि प्रारम्भिक मस्यौदा तयार गरिरहेको छ । कार्यक्रमममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघका प्रतिनिधि गोविन्द न्यौपानेले प्रदेश सरकारले संघ संस्था सम्बन्धि विधेयक प्रदेश पाँचले चाँडै बनाएकोमा धन्यवाद दिदै सामाजिक विकासको क्षेत्रलाई वर्गिकरण गर्नुपर्ने खाँचोमा जोड दिनुभयो ।
उहाँले सामाजिक विकास ऐन र गैरसरकारी संस्थाको ऐनलाई फरक रुपमा अगाडि ल्याउन सक्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेश कानुन आयोग प्रदेश पाँचका आयुक्त विष्णु पोखरेलले प्रदेशले निर्माण गरिरहेको संघ संस्था सम्बन्धि विधेयकका बिषयमा जानकारी गराउनु भएको थियो । सरकारले गैरसरकारी संस्थालाई सहयोगी निकायको रुपमा लैजाने गरि नयाँ कानुन निर्माण गर्न सरोकारवालाहरुले आग्रह गरेका छन ।
सहभागीहरुले गैरसरकारी संस्थाले सामाजिक जागरणका लागि उल्लेखनीय योगदान पु¥याएकाले सरकारले नियन्त्रण नभई नियमन गर्नुपर्ने खाँचो रहेको औल्याएका छन । जुरी नेपाल, नेपाल गैरसरकारी संस्था महासंघ, मानव अधिकार एलाईन्स, सिद्धार्थ सामाजिक विकास केन्द्र, ईन्द्रेणी सामुदायिक विकास केन्द्र र एआइएनको संयुक्त आयोजनामा मस्यौदामा छलफल गरि नागरिक समाजको तर्फबाट सुझाव संकलन गर्ने उद्देश्यले बुटवलमा एक दिने कार्यक्रम गरिएको हो । कार्यक्रममा जुरी नेपालका अधिवक्ता मोहन आचार्यले नेपालको संविधान, अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र अभ्यासहरुको सन्दर्भमा प्रदेश सरकारले निर्माण गरेका विधेयकका बारेमा विवेचना गर्दै केही बिषयहरु संशोधन गर्न आग्रह गर्नुभएको थियो ।
मानव अधिकार एलाईन्स नेपालका महासचिव डा. पदमप्रसाद खतिवडाले नेपालमा नागरिक समाजको भूमिका, सामाजिक विकास ऐनको आवश्यकता र यसको महत्वपूर्ण पक्षहरुबारे प्रस्तुती दिदै नागरिक समाजलाई कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुने उल्लेख गर्नुभयो ।
गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य शोभाराम डाँगीले संघसंस्था सम्बन्धि ऐनले संस्था दर्ता र कार्यक्रम सञ्चालनका लागि केही झञ्झटिलो व्यवस्था लागू गर्न खोजेकाले त्यसलाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो ।