‘शिक्षकको माग पुरा नभए विद्यालय वन्द गर्छौँ’

644

‘शिक्षकको माग पुरा नभए विद्यालय वन्द गर्छौँ’

गुल्मी, १६ कात्तिक । शिक्षकको पेशागत र शैक्षिक गुणस्तरको लागि अगाडी सारिएको माग पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । नेपाल शिक्षक महासंघ गुल्मीदरवार गाउंपालिका गुल्मीमा भएको धर्ना तथा विरोध सभामा बोल्ने वक्ताहरुले शिक्षकको माग पुरा गर्न ससक्त आन्दोलन गरिने बताएका हुन् ।

विगतमा माग पुरा गर्ने नाममा शिक्षकलाई झुक्काउने गरिएको भन्दै अहिले माग पुरा नहुदासम्म आन्दोलन जारी रहने बताए । उनीहरुले शिक्षकको नियुक्ती एकद्वार प्रणाली मार्फत गर्नुपर्ने उल्लेख गरे । शिक्षक सेवा आयोगलाई संबैधानिक आयोग बनाउन माग गरे । धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ गुल्मीका संस्थागत सहसचिव तेजेन्द्र खड्काले शिक्षा क्षेत्रलाई पनि गृहप्रशासन अन्र्तगत राख्नु राज्यको गैरजिम्मेवारीपन भएको बताउनुभयो ।

उहांले शिक्षकलाई संघीय सरकार अन्र्तगत राख्नुपर्नेमा जोड दिनुभयो । नेपाल शिक्षक संघ गुल्मीका सचिव खिमबहादुर थापाले शिक्षकको माग पुरा नभए विद्यालय वन्दसम्मका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिनुभयो । नेपाल शिक्षक महासंघ गुल्मीदरवार गाउंपालिका अध्यक्ष श्रीराज खड्काले शिक्षकको माग पुरा गर्न सशक्त आन्दोलन गर्ने बताउनुभयो ।

महासंघको केन्द्रीय कार्यक्रम अनुसार गुल्मीदरवार गाउंपालिकामा दिउसो एक बजेदेखि तीन बजेसम्म धर्ना तथा विरोध सभा गरिएको हो । विरोधसभामा गुल्मीदरवार भित्र रहेका विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको उपस्थिती रहेको थियो । महासंघले शिक्षकको पेशागत तथा शैक्षिक गुणस्तर कायम गर्न माग गर्दै २६ बुंदे माग अगाडी सारेको छ ।

कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा बजेट छुट्याउन माग गरिएको छ । त्यसैगरी संविधानमा व्यवस्था गरिए अनुसार आधारभुत तहसम्म अनिवार्य र निःशुल्क संगै माध्यमिक तह सम्म निःशुल्क शिक्षा व्यवहारमा लागु गर्न माग गरिएको छ । शिक्षक सेवा आयोगलाई संबैधानिक राष्ट्रिय शिक्षा आयोग बनाउनुपर्ने, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सुचिमा राख्नुपर्ने, सबै प्रदेश र स्थानीय तहले बनाउने तहगत शिक्षा ऐन एकरुपता हुनुपर्ने लगायतका पेशागत र शैक्षिक गुणस्तरका माग रहेका छन् ।