फाल्गुनन्दको १३४औं जन्मजयन्ती आज

448

फाल्गुनन्दको १३४औं जन्मजयन्ती आज

काठमाडौं २५ कार्तिक । नेपालका १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३४औं जन्मजयन्ती आज मनाइँदैछ। किरात धर्मका ज्ञाता तथा समाज सुधारकको परिचय बनाएका उनको जन्मजयन्तीका अवसरमा देश तथा विदेशमा विभिन्न कार्यक्रम हुँदैछन्।

फाल्गुनन्द जन्मजयन्तीको मुख्य समारोह पाँचथरको सदरमुकाम फिदिममा हुँदैछ। उक्त अवसरमा फाल्गुनन्दको अहिलेसम्मकै अग्लो प्रतिमा अनावरण गर्ने कार्यक्रम पनि रहेको किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले जानकारी दिए। उक्त कार्यक्रममा सहभागी हुन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितको टोली फिदिम आउँदैछ। फाल्गुनन्द जयन्ती समारोहका लागि फिदिम बजारलाई झकिझकाउ बनाइएको छ।

वि.सं. १९४२ कात्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिकामा पर्ने चुक्चीनाम्बामा जन्मिएका फाल्गुनन्दले १९८८ साल वैशाख २४ गते पाँचथर लब्रेकुटीमा ‘बृहत् किराँत चुम्लुङ (सभा)’ गरी १० बुँदे लिखित ’सत्यधर्म मुचुल्का’ कायम गराएका थिए। उक्त मुचुल्का जारी गरेपछि किरात समुदायमा रहेको बलिप्रथा र मद्यपानको चलन हटाएका थिए। यसका साथै उनले समाज सुधारका विभिन्न काम गरेका थिए।

किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष थेगिमले भने, ‘किरात समुदायको संस्कारमा रहेका विकृतिहरूलाई सुधार गर्न १० बुँदे सत्यधर्म मुचुल्का तयार गरिएको हो। सात बुँदे उक्त मुचुल्कामा छोरीको रीत खान नहुने, इश्वरका नाममा बली पूजा गर्न नहुने, मृत्यु संस्कार गर्दा मासुको पिण्ड चढाउन नहुने, छोरा–छोरीमा भेदभाव गर्न नहुने, आफ्नै भाषा लिपिमा अध्ययन गरी लिपिको जगेर्ना गर्नेजस्ता विषय समावेश थिए।’

नेपाल सरकारले २०६६ मंसिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। विं सं. २०५० मा उनको तस्बिर अंकित हुलाक टिकट प्रचलनमा ल्याइएको थियो । नेपालको पूर्वी क्षेत्रमा उनका अनुयायी प्रशस्त भेटिन्छन्। २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा फाल्गुनन्दको निधन भएको थियो। उनको समाधी स्थल पाँचथरको सिलौटीमा पर्छ। साभार :नागरीक न्युज