आज छठ पर्व : हर्षोल्लासका साथ मनाईदै

553

आज छठ पर्व : हर्षोल्लासका साथ मनाईदै

बुटवल,२७ कात्तिक । आस्थाको महापर्व छठ तराई भेगका साथै देशका विभिन्न स्थानमा मंगलवार हर्षोल्लासका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै सद्भाव बाँड्ने पर्वको रूप लिइसकेको छ ।

मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजापाठ गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ मौलिक पर्व हो ।

सन्तानप्राप्ति, निरोगीपन, सुख समृद्धि र चर्मरोगमुक्त हुने जनविश्वासअनुरूप पारस्परिक आत्मीयताका प्रतीकका रूपमा यो पर्व मनाइन्छ । संसारको आदि पर्वका रूपमा रहेको सूर्य पूजाको पर्व कुनै समय प्राचीन मिथिला भूभागभित्र मात्र प्रचलित रहेकामा कालान्तरमा यो पर्व देश–देशान्तरसम्म विस्तार हुँदै गएको पाइन्छ ।

संसारमा सूर्य पूजाको परम्परा सबै सभ्यता, धर्म, समुदाय र युगमा पाइन्छ । बेबिलोनका निवासीले सूर्यलाई अपोलोका रूपमा पूजा गर्थे भने जापानी इजानागी र इजानामीलाई आदि पुरूष र आदि नारी मान्ने गर्दछन् र यी आदि पुरूष, आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् । मिश्र सभ्यतामा एटम अथवा रे भनी सूर्यको पूजा गर्ने गरिन्छ ।

सूर्यलाई आदि देउता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि मानवलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै थिए । स्वभावतः मानव सूर्यप्रति आकर्षित भए र सूर्य आराधनाको क्रम शुरु भयो । छठ पूजामा छठीमाईको पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको समिश्रण रूप मानिन्छ । यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले परमेश्वरीका रूपमा लोकमानसमा आस्थाको महापर्वको स्थान ग्रहण गरेको देखिन्छ ।

सूर्यको महिमा सबै सम्प्रदाय र ग्रन्थमा रहेको छ । ऋग्वेदमा भनिएको छ, “हे आकाशकी छोरी उषा मलाई अन्न, धन, छोराछोरी देउ, वरदान देउ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराको मुख देख्न सकौँ ।” सूर्योपनिषद्मा सूर्यलाई नै ब्रह्माको साकार रूप बताइएको छ । यतिमात्र होइन यस ग्रन्थमा सूर्यलाई जगत्को पति भनी सम्बोधन पनि गरिएको छ ।

छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानी भोकै बस्नुपर्दछ । यो पर्व कबुला (भाकल) गरेअनुसार गरिन्छ, भाकल नगरी यो व्रत गरिँदैन । मिथिलाञ्चलमा भाकल पनि अनेक प्रकारले गरिएको पाइन्छ । कोही अरूको हातबाट अघ्र्यदान गराउने भाकल गरेका हुन्छन् भने कोही आफैँ व्रत गर्ने भाकल गरेका हुन्छन् । यस्तै एउटा अघ्र्य चढाउनेदेखि जोडा अघ्र्यका साथै पूर्णप्रति अघ्र्य दान गर्नेसमेत भाकल गरिएका हुन्छन् ।

यसमा कोसिया, कुरबार, छिट्टा, अघ्र्य इत्यादि सबैथोक दुई÷दुईप्रति चाहिने हुन्छ । यस्तै माटोका हात्तीमाथि अघ्र्य चढाउने, आँगनमा तथा घाटमा आँचलमाथि नटुवानाच गराउने, बाजा बजाएर अघ्र्य दान गर्ने, भिख मागेर छठ गर्ने भाकल पनि गर्ने गरिएको पाइन्छ ।

साधारणतः अघ्र्य दिने, पानीमा उभिने, घरदेखि घाटसम्म दण्ड दिँदै जाने तथा पानीमा उभिने जस्ता भाकलसमेत गरिएको देखिन्छ । यस्ता भाकल एक वर्षका लागि गर्नुका साथै पाँच वर्ष, दश वर्ष अथवा आजीवन समेतका लागि गरिने गरिएका हुन्छन् । अघ्र्यमा केराको हत्थाका साथै पकवान, मिष्ठान, फलफूल आदि राखिने गरिएको छ ।

बर्तालुले शरीर शुद्ध गर्न नुहाई भोकै अन्नजल नलिइकन बस्ने दिनलाई ‘खरना’ भनिन्छ । यो दिन दिनभरि शरीर खारिने हुनाले यसलाई खरना भनिन्छ । राति देउतालाई चढाएर खीर खाइन्छ । परिवारजनले यसलाई प्रसाद भनी ग्रहण गर्छन् । अर्को दिन बर्तालु अन्न जलबिना उपवास गर्छन् र साँझपख जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिई घर फर्कन्छन् । अर्को दिन बिहानीपख उदाउँदो सूर्यलाई अघ्र्य दिई उपवास तोडछन्, यसलाई ‘पारन’ भनिन्छ । संयोगवश कुनै बेला हुस्सु लागेर सूर्योदय हुन ढिलाइ हुँदा बर्तालु सूर्यको प्रार्थना गर्दै गाउने गर्दछन् ।