ओली सरकार अधिनायकवाद तर्फ : सभापति देउवा

1.3K

ओली सरकार अधिनायकवाद तर्फ : सभापति देउवा

बुटवल ६ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गलत कदम विरुद्ध नबोल्दा सरकार थप अधिनायकवाद तर्फ लम्किएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री केपी ओलीको विरोध गर्न किन डराएको भन्दै पार्टीका नेताहरुलाई समेत प्रश्न समेत गर्नुभयो ।

नेपाली काँग्रेस महासमिती बैठक सन्दर्भमा राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि बिहिवार भैरहवामा आयोजित पाँच नम्बर प्रदेश स्तरीय कार्यशालाको उद्घाटन गर्दै सभापति देउवाले आफ्नै पार्टीका नेताहरु आफु विरुद्ध लागेपनि अधिनायकवादतिर लम्किरहेको केपी ओलीको विरुद्ध विरोध नगरेको बताउनु भयो ।

मुलुकमा हत्या बलात्कारका लगायतका अपराधिक घटना दिनप्रतिदिन बढ्दै गएपनि हाम्रा नेताहरु सरकारका गलत कदम प्रति बोल्न सकेका छैनन्, उहाँले प्रश्न गर्दै भन्नु भयो–‘अहिले मेरो विरुद्ध बोल्न सजिलो छ, तर ओली विरुद्ध हाम्रो पार्टीको नेता किन बोल्दैनन् ।’ उहाँले थप्नुभयो–नेकपाका नेता माधवकुमार नेपाल केपी ओली विरुद्ध बोलिसके, के माधव नेपाल बोल्ने जति हिम्मत हाम्रा नेताहरुमा छैन् । ‘नेकपा खिलाफ बोल्नुस, किन डराउनुहुन्छ ?’ उहाँले भन्नुभयो ।

सभापति देउवाले सरकार अधिनायकवाद तिर लम्किरहेकोले आफुहरु एकभएर अघि नबढे मुलुक संकटमा पर्ने बताउदै कम्युनिष्ट सरकार विरुद्ध अन्तिम लडाई लड्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले चुनावमा एमाले र एमाओवादी दुई पार्टी भएर पनि एक भएर लडे तर काँग्रेस एक पार्टी भएपनि आन्तरिक द्वन्द्वका कारण दुई पार्टी भएसरह लडेको कारण पराजित हुनुपरेको दावि गर्नु भयो ।

काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान सरकारले काठमाण्डौँको खाल्टो समेत पुर्न नसकेको उल्लेख गर्दै बताउँदै सरकार असफल भइसकेको बताउनु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता श्रेष्ठले सरकारले वर्षौ अघिको प्रहरी प्रतिष्ठान हटाउने प्रत्यन गरेको बताउँदै मुलुकमा शान्ति सुरक्षा समेत कायम गर्न नसकेको आरोप लगाउनु भयो ।

नेपाली काँग्रेस संसदिय दलका सचेतक बालकृष्ण खाँणले केपी ओलीले संविधानको खिलाफ काम गरिरहेको आरोप लगाउँदै मुलुकमा सरकार रहे÷नरहेको खोज्नुपर्ने अवस्था आएको बताउनु भयो ।