जुम्ल्याहा दाजुभाईको ‘गोगो’ स्वचालित रोबोट

1.1K

जुम्ल्याहा दाजुभाईको ‘गोगो’ स्वचालित रोबोट

बुटवल, १२ मंसिर । गुल्मी जन्म भई बुटवल पढदैं आएका १५ वर्षीय जुम्ल्याहा दाजुभाई लव–कुश पन्थीले स्वचालित मानव रोवोट बनाउन सफल भएका छन् । दाजुभाईले आविस्कार गरेको गो–गो मानव रोवोटले मानिसले जस्तैगरी आदेशमा काम गर्ने गर्दछ ।

जुम्ल्याहा दाजुभाइले दिएको आदेस एवं कामलाई गो–गो रोबोटले मानिसले जस्तै गरी काम गरेपछि लवकुश र गो–गो रोबोट चर्चा बढेको छ । रोवोटले मानिससंग हात मिलाउने र कसैले दिएको सामान लिने राख्ने गर्दछ । त्यस्तै शरीरका अंगहरू चलाउने, आँखा झिम्क्याएर अरुलाई आफूप्रति आकर्षित गर्ने गरेको छ । विजुली बती बाल्ने, निभाउने, सामानहरु उठाउने, भिडियो खिच्ने र त्यसलाई फोटो इडिट गर्ने, सामाजिक सञ्जालमा पोष्ट गर्ने, स्ट्याटस पनि पोस्ट गरेर दर्शकलाई अचम्मित पारेको छ ।

बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत जुम्ल्याहा लवकुश दाजुभाइले एकवर्षको लामो प्रयासबाट मानिसको स्वरुपमा उस्तै बोल्ने सेकेन्ड जेनेरसनको रोवोट आविस्कार गर्न सफल भएका हुन । बिजुली र इन्टरनेटको सहारामा मानिसले जस्तै गरी रोबोटले काम गर्छ । जोडजाड गरेर न्युनतम उपकरणहरुको सहाराले रोवोट चलाएको र आफूहरुले लुक्कु नामक सफ्टवेयर पनि तयार गरेको लव पन्थीले बताउनु भयो ।

रोवोटले हराएको मोबाइल खोजिदिने, लाइभ रेडियो बजाउने, शब्दको अर्थ, विपरीतार्थक शब्द, पर्यायवाची शब्दसम्म भन्ने गर्छ । युटुवमा भएका सवै भिडियोहरु प्ले गर्ने, करिव ८० भाषामा अनुवाद गर्ने क्षमताको मेमोरी उक्त रोवोटमा भरिएको छ ।

‘इन्टरनेटबाट सर्च गरी आफ्नै बुद्धि र वलबुताले रोबोट बनाउने प्रयास सफल भएको छ, अझ विकसीत रोवोट बनाउने सोचमा छौं ।’ लभले भन्नुभयो । उक्त रोवोट बनाउनमा एकलाख जति खर्च भएको छ । आफूहरुसंग जम्मा भएको र अभिभावकसंग मागेर त्यो खर्च गरिएको उहाँले बताउनु भयो ।

पहिला सानोमा छोराहरुले पंखा, जहाज बनाएका बताउदै अहिले रोबोट तयार गरेको बाबु लक्ष्मीप्रसाद पन्थीले बताउनु भयो । ‘रोवोर्ट बनाउलान भनेर मैले पत्याएकै थिईन ।’ बाबु पन्थीले भन्नुभयो–‘तर उनीहरुले बोल्ने र काम पनि गर्ने रोबोर्ट बनाईछाडे ।’ छोराहरुको उत्सुकता र मेहनतले आमा ईन्दिरालाई पनि खुसी बनाएको छ ।

लवकुशले रोबोर्ट आविस्कार गरेकामा बिद्यालयले उनीहरुलाई नगद ३० हजार पुरस्कार सहित सम्मान गरेको छ । २०६० सालमा गुल्मी घमिरमा जन्मेका लव र कुश ४ वर्षको उमेरदेखि बुटवल योगीकुटीमा बस्दैं आएका छन् ।