बुटवल, १३ मंसिर । तिलोत्तमा नगरपालिकाले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा उपलब्ध गराउन गरेको सिफारिसलाई नेपाली काँग्रेसले कुहेको महत्वहिन आलु सित्तैमा बाडेको टिप्पणी गरेको छ ।
तिलोत्तमा नगरपालिकाले दुरगामी प्रभावपार्ने विषयमा समेत राजनीतिक सहमति विपरित स्वच्छाचारी ढंगले गरिएका निर्णय तथा कृयाकलापमा नेपाली काँग्रेसले आफ्नो विमत्ती रहेको जनाएको छ । नगरपालिकाले मुटु अस्पताललाई वडा ४ मा १० विगाहा जग्गा उपलब्ध गराउन सिफारिस गरेपछि नेपाली काँग्रेसले बिहिबार नगरप्रमुख बासुदेव घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिका भित्र मुटु अस्पताल स्थापना हुनु राम्रो विषय भएपनि १५ शैयाको अस्पतालकालागि १ अर्व मुल्य बराबरको सावजनिक जग्गा उपलब्ध गराउने निर्णय गर्दा राजनीतिक सहमति नखोजी निर्णय लिनु कुहेको महत्वहिन आलु सित्तैमा बाडेजस्तै भएको जनाएको छ । यसमा पार्टीको असहमति रहेको उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
नेपाली काँग्रेसले एउटै अस्पताललाई १० विगाहा जग्गा उपलब्ध गराउनुको औचित्य खोज्दै मुटु अस्पताल जस्तै अन्य मृगौला, क्यान्सर, ट्रमा, महिला तथा बालबालिका लगायतका महत्वपूर्ण अस्पतालले जग्गा माग्न आए नगरपालिकाले दिन सक्ने कि नसक्ने प्रश्च खडा गरेको छ । नेपाली काँग्रेसले यस कारण पनि उक्त मुटु अस्पतालकालागि ४ विगाहा जग्गा उपलब्ध गराउन सुझाव दिएको छ ।
तिलोत्तमा नगरपालिकाले जग्गा अस्पताललाई उपलब्ध गराउँदै गर्दा तिलोत्तमा बासीले उक्त अस्पतालमा रोजगारीमा प्राथमिकता तथा स्वास्थ्य सेवामा सहुलियत, अस्पताल सञ्चालनमा नगरपालिकाको भूमिका, जग्गाको स्वामित्व के हुने नेपाली काँग्रेसले प्रश्न गरेको छ ।
यी सबैकुरालाई वेवास्ता गरी गरिएको गैरजिम्मेवार एवं स्वच्छाचारी काम कारवाही प्रति नेपाली काँग्रेसले असहमति जनाउँदै निर्णय सच्याउन ध्यानाकर्षण गराईएको नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सचिव माधवलाल देवकोटाले बताउनु भयो ।
नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका सभापति हरिलाल पाण्डेको नेतृत्वमा गएको टोलीले सरकारी भवन र सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व बोकेको तिलोत्तमा नगरपालिकाले वडा नं. ७ मा रहेको पशुसेवा कार्यालयको पक्कि भवन र त्यसमा रहेका उपकरणहरु ध्वस्त हुनेगरी डोजर लगाएर भत्काएको प्रति आपत्ति व्यक्त गर्दै सरकारी एवं सार्वजनिक सम्पत्ति हिनामिना गर्नेहरुमाथि कारवाही गर्न गम्भिर ध्यानाकर्षण गराएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेले प्राप्त भएको ध्यानाकर्षण पत्र नगर कार्यपालिकामा जस्ताको तस्तै प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यद्यपी अस्पताललाई जग्गा दिने विषयमा सम्बन्धित वडामा छलफल गरी कार्यापालिकाको निर्णय अनुसार सिफारिस गरेको जानकारी गराउनु भयो ।
उक्त ज्ञापन पत्र बुझाउने क्रममा नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँण सहित नेता कार्यकर्ता पुगेका थिए । बिहिबारै नेपाली काँग्रेसले तिलोत्तमा नगरपालिकाले मुटु अस्पताललाई सिफारिस निर्णय विवादित भएकाले जिल्लाबाट सिफारिस रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पनि ज्ञापन पत्र बुझाएको छ ।