बुटवल, १३ मंसिर । प्रहरीले एक महिनाको अवधिमा ५९ थान हात हतियार बरामद गरेको छ भने पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले गत कात्तिक ९ गते यता बुधबार सम्म प्रदेश पाँचका बिभिन्न स्थानबाट ५७ थान भरुवा बन्दुक, एक थान एयर गन र एक थान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।
यस अवधिमा प्रहरी अर्घाखाँचीको सितगंगा नगरपालिकाबाट एक थान भरुवा बन्दुक सहित दुई जना, बर्दिया बढैयाताल गाउँपालिकाबाट कटुवा पेस्तोल सहित १ जना, नवलपरासी पश्चिम पाल्हिनन्दन गाउँपालिकाबाट एयरगन सहित १ जना र दाङ्को बङगलाचुली गाउँपालिकाबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको हो ।
त्यस्तै प्रशासन र प्रहरीको सक्रियता तथा बन तथा बन्यजन्तु संरक्षण समितिको समन्वयमा रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं. ६ बाट ५५ थान भरुवा बन्दुक बरामद गरिएको प्रदेश पाँच प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारले जानकारी दिनुभयो ।