बुटवल, १५ मंसिर । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपि गजुरेलले मुलुक अहिलेको शासन व्यस्थाले समृद्ध हुन नसक्ने बताउँदै यसका बिरुद्ध अर्को जनआन्दोलनको आवश्यकता औंल्याउनु भएको छ ।
अहिलेको दुई तिहाई बहुमतको सरकार देशलाई अभिसाफ भएको बताउँदै उहाँले दुई तिहाईको आडमा प्रधानमन्त्री केपी ओली निरंकुश तानाशाह बनेको आरोप लगाउनु भयो । अहिलेको सरकारले ९ महिनाको अवधिमा जनताका पक्षमा कुनै पनि काम नगरेको बताउँदै नेता गजुरेलले वर्तमान सरकारले जनतालाई महंगी, अन्याय र अत्याचार मात्रै उपहार दिएको उल्लेख गर्नुभयो ।
रिपोटर्स क्लव प्रदेश कार्यालय बुटवलमा शनिबार आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले जथाभावी करको दर र दायरा बढाएको र करको बोझले जनताको ढाड सेकिएको उल्लेख गर्नुभयो ।
बलात्कार तथा हत्या काण्डमा सरकारका माथिल्ला तहका मान्छे संलग्न भएको जनतालाई पनि प्रष्ट भईसकेको बताउनु भयो । बलात्कार तथा हत्या लगायतका अपराधिक घटनामा सरकारले दोशीलाई कारवाही गर्न नसक्ने र अन्तर्राष्ट्रिय जगतले समेत चासो देखाउन थालिसकेको बताउँदै यसले देशको स्थिती कहाँ पुग्यो भन्ने प्रष्ट भएको उल्लेख गर्नुभयो ।
उहाँले सरकारलाई माफियाले चलाएको बताउँदै माफियाले चलाएको सरकारले भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री ओलीका गतिबिधिले अव श्री ५ केपी ओली मात्रै लेख्न बाँकी रहेको बताउँदै प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस पनि भिजेको बिरालो जस्तै कमजोर भएको टिप्पणी गर्नुभयो ।
वर्तमान सरकारले कम्युनिष्टका नाममा जनतालाई भुलभुलैयामा पारेको बताउँदै यो सरकार कम्युनिष्टका नभई प्रतिक्रियाबादीहरुको भएको उल्लेख गर्नुभयो । सरकारका काम कारवाहीबाट जनतालाई पनि पश्चाताप भएको बताउँदै अधयक्ष गजुरेलले अव यसका बिरुद्ध सडक आन्दोलन एकमात्रै विकल्प भएको बताउनु भयो । उहाँले आफ्नो पार्टीको केन्द्रीय कमिटिको बैठक भईरहेको र उक्त बैठकले आन्दोलनको मागचित्र सहित मिति निर्धाणर गरेर सरकारका बिरुद्ध जनआन्दोलनको थालनी गर्ने जानकारी गराउनु भयो ।