लुम्बिनी विश्व शान्तिको शाझा स्थल : प्रचण्ड

483

लुम्बिनी विश्व शान्तिको शाझा स्थल : प्रचण्ड

भैरहवा, २० मंसिर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी विश्व शान्तिकालागि साझा स्थल भएको बताउँदै विश्वका कुनैपनि देशमा भएका द्वन्द्वरत पक्षलाई लुम्बिनीमा आएर शान्ति सम्झौता गर्न सुझाव दिनुभएको छ ।

उहाँले विश्व शान्तिका लागि बुद्ध जन्मस्थल लुम्विनी विश्वको साझा स्थल भएको धारणा राख्दै बुद्धिष्टकालागि मात्रै नभई लुम्बिनी सबै धर्मानुरागिकालागि समान भएको बताउनु भयो । सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं राष्ट्रिय लुम्बिनी महोतसवको बिहिबार भैरहवाको अञ्चलपुरमा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री दाहालले द्वन्द्वका कारण तनावमा रहका विश्वका कुनैपनि देशका द्वन्द्वरत पक्षले लुम्बिनीमा आएर शान्ति सम्झौता गरुन् भन्ने आफूहरुको चाहना भएको बताउनु भयो ।

उहाँले शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गरेको शान्ति सम्झौताले ठूलो महत्व राख्नुका साथै दुबै पक्षमा ईमान्दारिता र विश्वासको वातावरण समेत बन्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा गणतन्त्र, संघियता, धार्मिक स्वतन्त्रता र समावेशी समानताका आधारमा संविधान निर्माण गरिएको बताउँदै यसमा तत्काल कुनै पनि कुरा परिवर्तन गर्न खोजे मुलुकको राष्ट्रियता र देश समेत खतरामा पर्ने बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पूर्ववर्ती सरकारले गरेको निर्णयलाई उल्ट्याएर प्रदेशको राजधानी परिवर्तन गरि जनतालाई आपसमा नलडाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले मुलुकमा प्रजातन्त्रको स्थायीत्व हुने र जनभावनाको उच्च कदर हुने गरी बिकास र समृद्धि हासिल गर्नेगरी काम गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै नेकपामा नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले धर्म संस्कृतिका सवालमा दलका नेताहरु सडकमा बोल्दा साम्प्रदायिक दंगा भड्कन सक्ने बताउँदै यस्ता विषयमा कुटनीतिक ढंगले सदनमा नै धारणा राख्न आग्रह गर्नुभयो । सिद्धार्थनगर उद्योग वाणिज्य संघले नेपाल भ्रमण वर्ष–२०२० र प्रदेस ५ सरकारले घोषणा गरेको लुम्विनी भ्रमण वर्षको प्रचारप्रसार गर्दै उद्योग व्यवसायी एवं उपभोक्ताको सामुहिक हितमा भैरहवामा लुम्विनी राष्ट्रिय महोत्सव आयोजना गरेको हो ।

महोत्सव आगामी पुस १ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष तथा महोत्सवका संयोजक कुलप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ‘पर्यटन, कषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय सम्वृद्धिको आधार’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव विगतमा मेला महोत्वस भन्दा पृथक हुनुका साथै विशिष्टिकृत र आकर्षक बनाईएको संघका महासचिव नेत्रप्रसाद आचार्यले बताउनु भयो ।

संघले २०६१ सालदेखि प्रत्येक २ वर्षको अन्तरमा मेला महोत्सव सञ्चालन गर्दै आएको छ । यसपटकको मेलामा २ सय ६५ वटा स्टल रहेका छन् । महोत्सव अवलोकनकालागि आकर्षण गर्न र पर्यटकीय स्थलहरुको प्रचार प्रसारकालागि लुम्बिनीको मायाँदेवी मन्दिर, पाल्पाको ऐतिहासिक रानीमहल दरवारको आकृति बनाईएको छ ।

महोत्सव अवधिभर मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिनेछ भने स्वदेशी तथा विदेशी पर्यटक समेत गरि ३ लाख जनाले अवलोकन गर्ने र महोत्सव स्थलमा ८ करोड भन्दा बढीको कारोवार हुने आयोजकले अपेक्षा गरेको प्रचारप्रसार संयोजक गोविन्द ज्ञवालीले जानकारी दिनुभयो ।