‘लैंगिक हिंसाको अन्त्य एकल प्रयासले हुँदैन’

1.3K

‘लैंगिक हिंसाको अन्त्य एकल प्रयासले हुँदैन’

बुटवल, २२ मंसिर । लैंगिक हिंसाको अन्त्य कुनै एकल प्रयासले मात्रै सम्भव नभएको शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भ पारेर बुटवल महिला जेसीजले शनिबार बुटवलमा आयोजना गरेको लैंगिक हिंसा बिरुद्धको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले लैंगिक हिंसाको अन्त्यका लागि समाजका सबै पक्षको ऐक्यवद्धता आवश्यक हुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले लैंगिक हिंसा अन्त्यकालागि कसैको पनि एकल प्रयासबाट सम्भव नभएको बताउनु भयो । उहाँले लैंगिक हिंसा अन्त्य गर्ने नै हो भने सबैभन्दा पहिला अपराधमा संलग्न देखिने व्यक्तलाई अनुसन्धान र अपराध ठहरिएको व्यक्तिलाई कारवाहीकालागि सरकार प्रतिवद्ध हुनुपर्ने बताउनु भयो ।

उहाँले जेसीजले व्यक्तित्व र नेतृत्व बिकास मात्रै नभएर पछिल्लो समय समाज रुपान्तरणमा समेत सक्रियता देखिएको बताउँदै युवाहरुको सकृयता र सहभागिताले समाज रुपान्तरण र बिकास सम्भव भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमकी प्रमुख वक्ता राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य प्रोफेसर अम्बुदा श्रेष्ठले लैंगिक हिंसा अन्त्यकालागि सामुहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–‘हिंसा महिला, पुरुष र तेस्रोलिङ्गी सबैमा छ, हिंसा अन्त्यका सामुहिक प्रयास आवश्यक छ ।’

बुटवल महिला जेसीजकी अध्यक्ष राधिका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल महिला जेसीजकी संस्थापक अध्यक्ष रेखा कट्टेल, बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारी, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ सदस्य साबित्रा घिमीरे, पत्रकार कल्पना तिवारी, संगिता ढकाल लगायतले भनाई राख्नुभएको थियो । बुटवल महिला जेसीजकी महासचिव लक्ष्मी थापाको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजश्री गौतमले स्वागत गर्नुभएको थियो ।