संविधान र कानुनको बर्खिलाप हुनेगरी कानुन नबनाऔं : प्रमुख सचेतक खाँण

638

संविधान र कानुनको बर्खिलाप हुनेगरी कानुन नबनाऔं : प्रमुख सचेतक खाँण


बुटवल, १४ पुस । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सहकारी मैत्री हुन नसकेको आरोप लगाउँदै संविधान र संघीय कानुनको वर्खिलाव हुने गरी प्रदेश सरकारले कानुन नबनाउन आग्रह गर्नुभएको छ ।

सहकारी ऐनले सहकारीको कुल बजेटको ३० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान बनाएपनि प्रदेश पाँचको सरकारले ५० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नेपर्ने कानुन बनाएको प्रति आपत्ति व्यक्त गर्दै उहाँले यो प्रावधानलाई तुरुन्त संशोधन गर्न माग गर्नुभयो । प्रदेश पाँचको सरकारले सहकारीको कुल बजेटको ५० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान संविधान र संघीय कानुनको वर्खिलाव भएकाले त्यसलाई तत्काल सुधार गर्न उहाँले माग गर्नुभयो ।

बुटवलमा सञ्चालित धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभाको शनिबार बुटवलमा उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता खाँणले सरकारलाई सहकारी अभियानकर्मीलाई समेत बोलाएर छलफल गरेर कानुन निर्माण गर्न समेत सुझाव दिनुभयो । मुलुकको आर्थिक बिकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउँदै आर्थिक बिकासको अझै महत्वपूण आधार बन्नेगरी कानुन बनाउनु पर्ने र त्यसकालागि सहकारी अभियान्तालाई राखेर कानुन बनाउनु पर्ने उहाँको भनाई छ ।

त्यस्तै उहाँले उद्योग व्यापार व्यबसायमा लगानी गर्ने कर्जाको व्याजदर घटाएर न्यूनतम गराउन पनि सहकारीहरुलाई सूझाव दिनुभयो । त्यस्तै रोजगारीका नयाँ नयाँ सम्भावना अध्ययन गर्न र त्यस्ता सम्भावनाहरुमा लगानी गर्न पनि उहाँले सुझाव दिनुभयो । साधारण सभामा अध्यक्ष हरिप्रसाद पन्तले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष देवप्रसाद खनालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ । त्यस अवसरमा शेयर सदस्यका छोराछोरीमध्ये एसईई परिक्षामा उत्कृष्ट हुने र सहकारीका जेष्ठ सदस्यलाई नगद सहित सम्मान गरिएको थियो ।
त्यस अवसरमा संस्थाका सल्लाहकार टंकप्रसाद पराजुली, सचिव गोबिन्द खनाल, ऋण समितिका संयोजक राजेन्द्रप्रसाद न्यौपाने लगायतले भनाई राख्नुभएको थियो । शनिबार नै सम्पन्न साधारण सभाले गोबिन्द्र खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायणप्रसाद अधिकारी र सदस्यहरुमा देवप्रसाद खनाल, राजेन्द्र न्यौपाने, नारायण घिमिरे, मनकुमारी शाही, प्रकाश पाठक, ठाकुर घिमिरे, राजकुमार वाग्ले, शान्तिसिंह मल्ल, मञ्जु भण्डारी, रमादेवी पाण्डे, होमबहादुर थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

त्यस्तै सहकारीको लेखा समितिको संयोजकमा ऋषिराम भट्टराई तथा सदस्यमा गंगा पन्थी र राजु पौडेललाई चयन गरिएको छ । ऋण उपसमितिको सदस्यमा लक्ष्मण गैरे र रामप्रसाद पराजुली, शिक्षा उपसमितिको सदस्यमा विजयकुमार रेग्मी र रामप्रसाद चौधरीलाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।