प्रदेश राजधानीको उपयुक्त स्थान बुटवल :महासचिव पौडेल

579

प्रदेश राजधानीको उपयुक्त स्थान बुटवल :महासचिव पौडेल


बुटवल, १४ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश ५ को स्थायी राजधानीबारे अनावश्यक हल्ला गरिरहनु नपर्ने बताउनु भएको छ ।

तमु ल्होसारको अवसरमा गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पौडेलले जनताले प्रदेशको स्थायी राजधानी कहाँ चाहन्छन् भन्नेमा प्रदेश सरकार र प्रदेश सांसदहरु जानकार रहेको बताउनु भयो ।

उहांले भन्नुभयो– ‘प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका विषयमा अब पनि धेरै पिठो पिस्नुपर्छ जस्तो मलाई लाग्दैन । यहाँका जनता के चाहन्छन्, त्यो सांसदहरु जान्दछन् र त्यही आधारमा उचित निर्णय गर्छन् ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल ६ लेन सडक, अन्तर्राष्ट्रिय सभाहल, सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग लगायतका आयोजना छिट्टै हुने भएकाले प्रदेश राजधानीका लागि बुटवल उपयुक्त हुने उहांले बताउनु भयो ।

नेकपा महासचिव पौडेलले ल्होसारमा विदा कटौतीबारे प्रधानमन्त्री र सरकारलाई सकारात्मक रुपमा ब्रिफिङ गर्ने आश्वासन दिनुभयो। उहाले धेरै विदा दिँदा देश निर्माणमा वाधा पुग्ने देखेर सरकारले केही कटौती गरेको प्रष्ट पार्नुभयो । कार्यक्रममा कांग्रेस बुटवल नगरसभापति खेलराज पाण्डेले सत्तारुढ दल नेकपाका स्पष्ट दुई तिहाई वहुमत हुँदाहुँदै प्रदेश ५ को स्थायी राजधानी तोक्न ढिलाई भएको भन्दै आलोचना गर्नुभयो ।

ल्होसारमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै चरणवद्ध आन्दोलनमा रहेका गुरुङ समुदायले शनिवार बुटवलमा विरोध ¥याली निकालेको परिषदका सचिव ओमप्रकाश गुरुङले जानकारी गराउनु भयो ।