रुपन्देही प्याव्सनमा पुनः पौडेल

1.2K

रुपन्देही प्याव्सनमा पुनः पौडेल


बुटवल, १४ पुस । नीजि क्षेत्रका विद्यालयलाई सरकारले गलत नजरले हेरेको विद्यालय सञ्चालकहरुले गुनासो गरेका छन् । सरकारले उच्चस्तरीय आयोग बनाएर नीजि विद्यालयहरुलाई विस्थापित गर्न लागेको उनीहरुको आरोप छ । आज सम्पन्न प्याब्सन रुपन्देहीको १४ औं अधिवेशन तथा १६ औं साधारण सभामा बोल्ने नीजि विद्यालय सञ्चालकहरुले नीजि विद्यालयले शिक्षामा पुराएको योगदानको कदर हुनुपर्ने बताए ।

शिक्षा सम्बन्धी नीति, ऐन बनाउंदा नीजि विद्यालयसंग सरोकारराख्ने संघसंस्थाको प्रतिनिधित्व गराउन सरकारसंग माग गरेका छन् । सरकारले एकल रुपमा बनाएको शिक्षा नीति, ऐन प्रभावकारी बनाउनका लागि नीजि क्षेत्रको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै प्रदेश नम्बर पांचका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले राज्यले ल्याएको शिक्षा नीतिमा अभाव रहेको बताउनुभयो ।

नीजि क्षेत्रले शिक्षामा पुराएको योगदान अहम रहेको उल्लेख गर्दै उच्च स्तरीय शिक्षा आयोगप्रति नआत्तिन आग्रह गर्नुभयो। नीजि क्षेत्रले शिक्षामा लगाएको लगानी राज्यले हडप्न नमिल्ने बताउंदै सरकारले सम्पत्ति हडप्ने कल्पनासमेत नगरेको आश्वासन दिनुभयो । उहांले राज्यले विद्यालय आफै सञ्चालन गर्ने भएमा उचित मुआब्जा दिनुपर्ने बताउनुभयो ।

प्याव्सनका केन्द्रिय महासचिव राजेन्द्र वानियाले सरकारले बनाएको उच्चस्तरीय शिक्षा आयोग अब्यवहारिक र समय अनुकुलको नभएको बताउनुभयो। शिक्षामा विज्ञता राख्न नसक्ने मानिसले बनाएको उच्चस्तरीय शिक्षा आयोगले नीजि क्षेत्रको शिक्षालाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो । कर तिरेर कमाएको नीजि विद्यालयहरुको सम्पति राज्यले मुआब्जा नदिइ अधिग्रहण गर्नलागेको दावी गर्नुभयो। उहांले नीजि विद्यालयहरुको समस्या सम्बोधन गर्न नसके प्याब्सन सरकारकार विरुद्व आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाले राज्यले नीजि विद्यालय मास्न खाजेको आरोप लगाउंदै नेपाली समाज विधियुक्त भएकाले सबै विद्यालयहरुमा एउटै पोशाक सम्भव नहुने बताउनुभयो ।

कार्यक्रममा प्याब्सन केन्द्रिय उपाध्यक्ष डिके ढुंगाना, सल्लाहाकार टिका पुरी, प्रदेश नम्बर पांचका अध्यक्ष कृष्ण खनाल,सल्लाहकार दामोदर भुसाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, भिष्म न्यौपाने लगायतले बोल्नु भएको थियो । प्याब्सन रुपन्देही अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षता र लक्ष्मण ज्ञपालीको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो, भने पत्रकार अमृत गिरी र नरेश केसीलाई पुरस्कृत गरिएको थियो ।

अधिवेशन तथा साधारण सभाले पुन लेखनाथ पौडेलको नेतृत्व नयां नेतृत्व चयन गरेको छ । सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्षमा अनन्तराम शर्मा, उपाध्यक्षमा एकरानायण काफ्ले, रामदेव यादव र कमलप्रसाद रेग्मी चयन हुनु भएको छ । त्यस्तै सचिवमा लक्ष्मण ज्ञवाली, कोषाध्यक्षमा दिपक खनाल, सह– सचिवहरुमा कपिलमणि ढकाल, केएन सागर ज्ञवाली, तोलाकान्त डुम्रे र सह कोषाध्यक्षमा लिलाधर गौतम चयन हुनुभएको छ।