अव सरकारलाई प्रतिपक्ष देखाईदिन्छौं : प्रमुख सचेतक खाँण

1.1K

अव सरकारलाई प्रतिपक्ष देखाईदिन्छौं : प्रमुख सचेतक खाँण


बुटवल, १५ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रधानमन्त्री केपी ओलीले अनिच्छा देखाएका कारण कार्यान्वयनमा ढिलाई भएको बताउनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुको विकल्प नभएपनि सरकारले कार्यान्वयनमा आलटाल गरिरहेको उहाँले आरोप लगाउनु भयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहनु भएका नेता खाँणले भन्नुभयो–‘नाच्न नजान्ने आँगन टेढो, लोकतन्त्र प्रति भित्रैदेखि मन नगर्ने, अनि प्रतिक्षले काम गर्न दिएन भनेर हुन्छ ?’
उहाँले प्रधानमन्त्री ओलीले प्रमख प्रतिपक्षी नेपाली काँग्रेस कहाँ छ भनेर गरेको कटाक्ष प्रति उत्तर दिँदै अव सरकारलाई प्रतिपक्ष यहाँ छ भने देखाईदिने बताउनु भयो । अव काँग्रेस सडक र सदन दुई ठाउँमा शान्तिपूर्ण आन्दोलन गर्ने बताउँदै त्यसकालागि सबै पक्षसंग छलफल भईरहेको नेता खाँणले जानकारी गराउनु भयो ।
उहाँले ५० अर्ब माथिका परियोजना प्रधानमन्त्री कार्यालयबाट कार्यान्वयन गर्ने, विभिन्न मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्ने, बाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त हत्या प्रकरण लगायतका विषय उठाएर चालु संसदमा सशक्तरुपमा आवाज उठाउने पनि उहाँले जानकारी गराउनु भयो ।
प्रधानमन्त्री र मन्त्रीहरुका अभिव्यक्ति संविधान विपरित र गैरजिम्मेवार रहेको भन्दै नेता खाँणले सरकारलाई सच्चिन सुझाव दिनुभयो । लोकतान्त्रिक पद्धती बन्दुक र बारुद पड्काएजस्तो नभएको भन्दै उहाँले दुई तिहाइ बहुमतको सरकारले लोकतन्त्र बिरोधी काम गरिरहेको आरोप लगाउनु भयो ।
फरक प्रसंगमा प्रदेश पाँचका मुख्यमन्त्री र सभामुखको अनिच्छाका कारण स्थायी राजधानी र नामाकरण तोक्न नसकेको बताउनु भयो । नेता खाँणले मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्ती बुटवललाई प्रदेश राजधानी बनाउने पक्षमा नभएकाले ढिलाई भएको बताउनु भयो । ‘मुख्य मन्त्री र सभामुखलाई यहाँका हावापानी ठिक नलागेका कारण प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरण गर्न ढिलाई भईरहेको छ ।’ उहाँले भन्नुभयो–‘उहाँहरुलाई अर्को चुनाव बिग्रिने डर छ, कार्यकाल समाप्त हुँदासम्म पनि प्रदेशले नाम र स्थायी राजधानी पाउँदैन जस्तो लाग्न थाल्यो ।’
भैरहवामा निर्माण सम्पन्न हुन लागेको अन्तर्राष्ट्रिय बिमानस्थल, पूर्वाधार, सबै कुराले बुटवल स्थायी राजधानीकालागि उपयुक्त भएको बताउँदै बुटवललाई नै स्थायी राजधानी तोक्नु पर्ने भनाई राख्नुभयो । बुटवलबाट अन्यत्र सार्न दुई तिहाइ चाहिने तर मुख्यमन्त्री र सभामुखले दुई तिहाइ पु¥याउन नसक्ने हुँदा प्रदेश सभाले पनि बुटवललाई नै स्थायी राजधानी तोक्ने उहाँले दावी गर्नुभयो ।