बुटवल, २० पुस । बुटवल स्थित संजीवनी कलेज अफ मेडिकल साइन्सेजले प्राबिधिक शिक्षाका महत्वका बिषयमा प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनौट चरणको प्रतियोगिता दाङ्मा सम्पन्न गरेको छ । जिल्लामा भएको छनौट चरणको प्रतियोगिताबाट दीपज्योती टेक्निकल कलेज (नर्सिङ्)की एलिजा पाण्डे र गोरखा ईन्टरनेशनल माबि घोराहीका शौरभ आचार्य क्रमशः प्रथम द्वितीय हुँदै छनौट भएको कलेजले जनाएको छ ।
छनौट प्रतियोगितामा कक्षा १२ (बिज्ञान र पिसीएल हेल्थ साईन्सका बिद्यार्थीले भाग लिएका थिए । प्रदेश पाँचका सबै जिल्लामा छनौट चरणको प्रतियोगिता सम्पन्न भएपछि माघमा बृहत शैक्षिक बहस सहित ग्राण्ड फिनाले गरिने कलेजका कार्यकारी निर्देशक दिपक रोकाले जानकारी दिनुभयो ।
उहाँले यस प्रकारका कार्यक्रमले बिद्यार्थीमा रहेका अन्तरनिहित कला प्रस्फूटन हुने र जल्दोबल्दो रुपमा अंगाडी आएको प्राबिधिक शिक्षाको बहसलाई अझै फराकिलो बनाउने बताउनु भयो । दाङ् पूर्वका जिल्लाहरु रुपन्देही, कपिलवस्तु, परासी र पाल्पामा छनौट प्रतिस्पर्धा भईसकेको पनि उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले यस प्रकारको कार्यक्रमले अन्तर कलेजमा प्रतिस्पर्धी बिद्यार्थी उत्पादन गर्न समेत मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकार महासंघ दाङ्का अध्यक्ष सविन प्रियसन, हिसानका केन्द्रीय सदस्य अरुण सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
बुटवलमा हुने ग्राण्ड फिनालेमा प्रथम हुनेलाई २० हजार रुपैंया, द्वितीय हुनेलाई १५ हजार रुपैंया, तृतीय हुनेलाई १० हजार रुपैंया र चौंथो स्थानमा आउनेलाई प्रोत्साहन स्वरुप २ हजार ५ सय रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने कलेजले जनाएको छ । कार्यक्रम कलेजका प्रशासकीय अधिकृत राजु अर्यालको स्वागत तथा परामर्श प्रशिक्षक कपिल शर्माको सञ्चालनमा भएको थियो ।
