काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुसँगको वार्तामा आइतबार मधेसी मोर्चा कडारुपमा प्रस्तुत भएको छ । मोर्चाले सीमांकन हेरफेर नभएसम्म उधारोमा कुनै सम्झौता नहुने बताएको छ ।
मधेसमा आन्दोलन सुरु भएको झण्डै तीन महिनापछि प्रमुख दल र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच वार्ता भएको थियो । तर, सिंहदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा प्रमुख दलका नेताहरु ठोस प्रस्तावसहित पेश हुन सकेनन् । त्यहाँ मधेसी मोर्चाका नेताले कडारुपमा आफ्नो कुरा राखे ।शीर्षवार्ताको सुरुमा राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष प्रचण्डले सीमांकनको विवाद समाधानका लागि राजनीतिक संयन्त्र गठनको प्रस्ताव राखेका थिए । तराई मधेसका विवादित जिल्लाहरु विभाजन गरेर पनि सहमति खोज्न सकिने उनको दोस्रो विकल्प थियो । तर, दोस्रो विकल्पबारे सत्तारुढ र संविधान जारी गर्ने दलहरुबीच छलफल हुन बाँकी रहेेको उनले बताए ।कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल र एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रचण्डको पहिलो विकल्पमा समर्थन गरे । तर, त्यहीबेला एमाले र कांग्रेसका नेताहरुले नाका अवरोध गर्ने लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिन मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरे ।शीर्षवार्तामा कांग्रेस नेताहरुले अघिल्लो सरकारले दर्ता गरेको संशोधन प्रस्ताव अघि बढाउनसमेत आग्रह गरेको छ ।तर, मधेसी मोर्चाले प्रचण्डको प्रस्ताव अस्वीकार गरेका छन् । २२ बुँदे सम्झौतामा लेखिएको स्वायत्त मधेस प्रदेश पढेर सुनाउँदै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब उधारोमा सम्झौता नहुने बताए ।कडा रुपमा प्रस्तुत भएका यादवले भने- ‘हिजो धेरैपटक सम्झौता भयो, कार्यान्वयन भएन । बरु मर्न तयार छौं तर, योपटक उधारो कुनै पनि कुरा मानिन्न ।’प्रमुख दलहरुसँग अब २/३ दिन समय रहेको भन्दै उपेन्द्र यादवले सहमति नभए छठपछि कडा संघर्षका कार्यक्रम ल्याउने बताए । फोरमका वरिष्ठ नेता अशोक राईले प्याकेजमा सहमति नभए पहाडमा पनि आन्दोलन हुने बताए । उनले भने-‘तपाईहरु अझै गम्भीर हुनुभएन भने धुरुधुरु रुनुपर्ने अवस्था आउँछ ।’बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रमुख दलहरुले बैठकमा केही नभनेको तर, बाहिर भारतले नाकाबन्दी गरेको भन्दै हिँडेको भन्दै भारतसँगै वार्ता गर्न नेताहरुलाई चुनौती दिएका छन् ।नेपाल र भारत दुई छिमेकी भएको भन्दै उनले दुई देशबीच वार्ता भए आफूहरु बीचमा बस्ने बताए । ठाकुरले त्यसअघि नै प्रमुख दलहरुको संकीर्ण सोचका कारण मधेसमा सीके राउतहरु जन्मिएको बताएका थिए ।उनले नेपाल र भारतबीच वार्ता भए आफूहरु बीचमा बस्ने बताएपछि एमाले वरिष्ठ नेता खनालले बीचमा भन्नाले भनेर प्रश्न गरेका थिए । तर, ठाकुरले ‘तपाईहरु आफैं बुझ्नुस्’ भन्ने जवाफ दिएका छन् । बैठकमा सहभागी केही नेताहरुले भने ठाकुरले छुट्टै देशको संकेत गरेको अर्थ लगाएका छन् ।बैठकमा सहभागी एक नेताले भने-‘मधेसी मोर्चाका साथीहरु निकै बोल्ड्ली प्रस्तुत हुनु भएको थियो ।’बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले प्रमुख दलहरुले कुनै ठोस प्रस्ताव ल्याउन नसकेको बताए । उनले दलहरुलाई विश्वास गर्ने वातावरण नबनेको भन्दै केही दिनमा सहमति नभए छठपछि आन्दोलन चर्काउने बताए ।कांग्रेस कार्यवाहक सभापति पौडेलले आफूहरुले नाकाबन्दी फिर्ता लिन आग्रह गरेको जानकारी दिए । दलहरुबीच प्रादेशिक सीमाबारे छलफल भए पनि कुनै सहमति नभएको उनले जानकारी दिए ।