बुटवल, २९ पुस । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश पाँचको आईतबारको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारले गरेको गाडी खरिदमा कुनै अनियमितता नभएपनि सार्वजनिक खरिद ऐनमा भएका जटिलताका कारण त्यस्तो देखिएको बताउनु भएको छ । उहाँले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गाडी खरिदका फाईल लेखा समितिले छानविन गरिरहेकाले आशंकाको भरमा कसैलाई आरोपित नगर्न पनि आग्रह गर्नुभयो ।
उहाँले वाईड बडी बिमान खरिद प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीलाई बचाउ गर्दै संघीय संसदको सार्वजनिक लेखा समितिले आफ्नो अख्तियारी दुरुपयोग गरेर अनावश्यक रुपमा मुछ्ने काम गरेको आरोप लगाउनु भयो ।
नेपाली काँग्रेसले प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा कायम गर्न माग गर्दै प्रदर्शन गर्न लागेको कार्यक्रम प्रति लक्षित गर्दै प्रदेशको राजधानी प्रदेश सभाले तोक्ने भएकाले सडकमा गएर फैसला नगर्न आग्रह गर्नुभयो । मख्यमन्त्री पोखरेलले प्रदेश सभाको काम प्रदेश सभालाई नै गर्न दिन आग्रह गर्दै प्रखुम प्रतिपक्षी दल नेपाली काँग्रेसलाई जिम्मेवार बन्ने समेत सुझाव दिनुभयो । ‘प्रदेशको अस्थायी राजधानी सार्ने कुरा होईन, प्रदेश सभाले स्थायी राजधानी तोक्ने हो ।’ उहाँले भन्नुभयो–‘सडकमा गएर फैसला नसुनाउनुहोस, प्रदेश सभाको काम प्रदेश सभालाई गर्न दिनुहोस ।’