बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको खवरदारी सभामा बोल्दै साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका केन्द्रिय तथा जिल्ला नेताहरुले प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवल तोक्न र नाम लुम्बिनी राख्नुपर्ने धारणा राखेका हुन् ।
साविक लुम्बिनी अञ्चलका जिल्लाहरु रुपन्देही सहित नवलपरासी, कपिलबस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची गरी ६ जिल्लाका केन्द्रीय तथा जिल्ला नेताहरुले सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरण तत्काल गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले लुम्बिनीको आकर्षण जुन किसिमको छ, सोही अनुसार यो प्रदेशको बिकास समृद्धिकालागि प्रदेशको राजधानी रुपन्देही र प्रदेशको नाम लुम्बिनी नै हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लुम्बिनीका माध्यमबाट शान्ति, बिकास समृद्धि हासिल गर्न सकिने भएकाले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले प्रदेश पाँचको अस्थायी मुकाम बुटवललाई तोकेको स्मरण गर्दै प्रदेश सरकारलाई लुम्बिनीको अवमुल्यन नगर्न पनि चेतावनी दिनुभयो । उहाँले मुलुकलाई नै एकताको सन्देश दिने बताउँदै विश्वले मान्ने बुद्ध जन्मस्थल लुम्बिनीलाई मान्दिन भन्नु बुद्धकै अपमान हुने तर्क गर्नुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका नेता खाँणले रुपन्देही मुलुककै आर्थिक केन्द्रको रुपमा विकास भइरहेको र प्रदेशको केन्द्र पनि रुपन्देही हुने दावी गर्नुभयो । भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, विश्व पर्यटनको केन्द्र शान्तिभूमि लुम्बिनी, बुटवलमा बन्दै गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतको ऐतिहासिक तथा पूर्वाधारका हिसावले उपयुक्त रहेकाले स्थायी राजधानी बुटवलमै हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘मुख्यमन्त्रीजीले प्रदेश सभामा बोल्नुभएछ, संघीय संसद्का मान्छे बोल्न आवश्यक छैन ।’ उहाँले भन्नुभयो–‘मुख्यमन्त्री र मन्त्रीका झण्डा हल्लाउनकालागि प्रदेशको राजधानी मागेको होईन, सम्पन्न र उत्कृष्ट प्रदेश बनोस भन्ने हाम्रो चाहना हो ।’
उहाँले स्वर्गीय गिरीजाप्रसाद कोईराला र सुशिल कोईरालाको नाममा सञ्चालित स्वास्थ्य संस्थाको नाम परिवर्तन गरि वर्तमान सरकारले मुलुककालागि ठूलो योगदान पु¥याएका व्यक्तिको ठूलो अपमान गरेको बताउँदै त्यसमा गम्भिर आपत्ति जनाउनु भयो ।
त्यस्तै अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले कम्युनिष्ट सरकारबाट मुलुकको बिकास र समृद्धि सम्भव नभएको बताउनु भयो । प्रदेश स्थापना भएको एक वर्ष हुँदासम्म पनि प्रदेशको न्वारन सम्म गर्न नसकेको भन्दै उहाँले प्रदेशलाई अनिर्णयको बन्दि बनाएको आरोप लगाउनु भयो । उहाँले दुई तिहाई सरकारले जनतामा सपनामात्रै बाँडेर सरकार टिकाउने काम गरिरहेको आरोप लगाउँदै भन्नुभयो–‘जनताका आवश्यकताबारे सरकारले सोच्दैन, सपना बाँड्छ, अनि जनता भुलेका छन् भनेर सरकार चलाउँछ ।’ उहाँले अहिलेको सरकार भ्रष्टाचारमा चुर्लम्म डुवेको आरोप लगाउँदै भ्रष्टाचार गर्नेलाई जेल हालेरै छाड्ने दावी गर्नुभयो ।
संवैधानिक व्यबस्था अनुसार वित्तिय आयोग गठन नगर्दा हरेक क्षेत्रमा अस्तव्यस्त भएको बताउनु भयो । उहाँले प्रदेशका टुक्रयाउनबाट जोगाएको स्मरण गर्दै प्रदेशको राजधानी सबैकुराले बुटवल नै उपयुक्त भएको भनाई राख्नुभयो ।
त्यस्तै केन्द्रीय सदस्य तथा प्रतिनीधि सभाका सदस्य देवेन्द्रराज कंडलेलले प्रदेशको सिमा अझै विस्तार गर्नुपर्ने धारणा राख्दै मुलुकै नमुना प्रदेश बनाउन यसको सिमा चिनसम्म पु¥याउनु पर्ने बताउनु भयो । उहाँले प्रदेशको राजधानी बुटवलमै हुनुपर्ने बताउँदै अन्यत्र तोक्ने काम भए पार्टी कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिनुभयो । उहाँले यो प्रदेशको अन्यत्र तोके कम्युनिष्ट सदाकालागि समाप्त हुने पनि चेतावनी दिनुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका पाल्पा सभापति तथा प्रदेश सांसद बिरबहादुर राना, गुल्मीका सभापति भुवन श्रेष्ठ, अर्घाखाँचीका सभापति बिष्णु मुस्कान, नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता बलदेव शर्मा, प्रदेश सांसद तथा कपिलबस्तुका नेता बिरेन्द्र कनौडीया, प्रदेश सभा सदस्य रमा अर्याल, काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, रुपन्देही क्षेत्र नं. २ का सभापति हरि लम्साल, खवरदारी सभाका प्रचार संयोजक तथा बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले प्रदेशको राजधानी अन्यत्र तोक्ने काम गरे त्यो सरकारकालागि अभिसाफ हुने चेतावनी दिनुभएको थियो ।
खवरदारी सभा पूर्व नेपाली काँग्रेसले बुटवलको राजमार्ग चौराहाबाट प्रदर्शन सहितको ¥याली ट्राफिकचोक पुगेको थियो ।
