बुटवल, माघ । प्रदेश पाँच प्रदेश सभाले खरिद गरेको गाडीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्न सुरु गरेको छ । सार्वजनिक लेखा समितिको उपसमिति मार्फत छानबिन गरिरहेको बेला अख्तिायारले गाडी खरिदमा भएको अनियमितता बारे छानबिन थालेको हो ।

प्रदेश सभा सचिवालयले खरिद गरेका टाटा स्ट्रोम ११ र अन्य कम्पनीका २ गरि १३ थान गाडी खरिदमा भएको भनिएको अनियमितताबारे अख्तियारले छानबिन थालेको हो । टाटाको गाडी खरिदमा मन्त्रालय र प्रदेशसभाकै बीचमा ठूलो रकम अन्तर देखिएको छ । बजार मूल्य भन्दा महंगो भएको तथा खरिद प्रक्रियामा कमजोरी भएको भनिएपछि अख्तियारले छानबिन सुरु गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार प्रदेश सभाले खरिद गरेका गाडीका विषयमा छानबिन सुरु गरिएको हो । उहाँले गाडी खरिद प्रक्रिया, गाडीको वास्तविक मूल्य लगायतका विषयमा छानबिन थालेको बताउनु भयो । अख्तियारले भने प्रदेशसभाको गाडी खरिदका विषयमा मात्रै छानबिन थालेको हो । सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले भने प्रदेश सरकार र प्रदेशसभाले खरिद गरेको ४३ थान गाडीकै विषयमा छानबिन गरिरहेको छ । माघ ६ गते बसेको सार्वजनिक लेखा समितिको बैठकले छानबिनका लागि जनशक्ति र समय थप गरेको थियो ।
सांसद कुलप्रसाद पोखरेलको संयोजकत्वमा गठन गरिएको उपसमितिमा तीन सदस्य थप भएपछि सोमबार पहिलो बैठक बसेको छ । बैठकमा अझै केहि कागजपत्र आउन बाँकी रहेकाले सरकार र प्रदेशसभासँग माग गरेको छ । सोमबार पनि उपसमितिको बैठक बस्ने छ । उपसमितिका सदस्य सांसद वसिउद्धिन खाँनले भन्नुभयो–‘अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ ।’
प्रदेशसभाले ११ र कृषि, भौतिक, सामाजिक र पर्यटन मन्त्रालयमा ४ गरि १५ वटा टाटाको स्ट्रोम गाडी खरिद गरिएको छ । यो गाडीलाई मन्त्रालय र प्रदेशसभाले झन्डै प्रति गाडी साढे ४ लाख मूल्य बढिमा खरिद गरेको हो । विभिन्न मन्त्रालय र प्रदेशसभाले ४३ थान गाडी खरिद गर्दा अधिकांशमा सिप्रदी ट्रेडिङ प्रालि र अग्नि इनकम प्रालिले गाडी विक्रि गरेका छन् । यसमा सिप्रदीले विक्रि गरेको टाटा स्ट्रोमको गाडी प्रदेश सभा, मन्त्रालयमा फरक फरक मूल्यमा विक्रि गरेको छ ।
प्रदेश सभाले प्रति गाडि ७१ लाख ९४ हजार मूल्यमा स्ट्रोम गाडी खरिद गरेको छ । यहि गाडीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भने ७२ लाख ९९ हजार रुपैयाँमा खरिद गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले भने टाटाको स्ट्रोमलाई ७२ लाख ४२ हजार मूल्यमा खरिद गरेको हो । प्रदेशसभा र मन्त्रालयले गाडी खरिदमा २२ करोड ७५ लाख ५७ हजार मूल्य खर्च गरेको छ ।