प्रविधियुक्त नमुना प्रदेश निर्माणमा हातेमालो गरौंःमुख्यमन्त्री शंकर पोखरेल

599

प्रविधियुक्त नमुना प्रदेश निर्माणमा हातेमालो गरौंःमुख्यमन्त्री शंकर पोखरेल


बुटवल, फागुन । शुक्रबारदेखि बुटवलमा प्रदेश स्तरीय सूचना तथा सञ्चार प्रविधि सम्बन्धि मेला (क्यान इन्फोटेक) सुरु भएको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ तथा व्यबसायीहरुको छाता संस्था ‘कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघ’को आयोजनामा भएको इन्फोटेकको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशलाई प्रविधियुक्त नमुना प्रदेश निर्माणकालागि हातेमालो गर्न आग्रह गर्नुभयो । मुलुकमा जुन किसिमले सूचना तथा सञ्चार प्रविधिको बिकास हुनुपर्ने हो संस्थागत सामथ्र्यको अभावमा त्यो हुन नसकेको बताउँदै उहाँले सूचना प्रविधिको क्षेत्र वर्तमान र भविश्य पनि भएकाले यसको बिकास अपरिहार्य रहेपनि यो क्षेत्रमा लगानी आकर्षण हुन नसकेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले लगानी कर्तालाई कन्भिन्स गर्न पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने संघसंस्थालाई आग्रह गर्नुभयो । उहाँले प्रदेश पाँच भित्र सूचना प्रविधिको नयाँ शहर, डिजिटल एजुकेशन के के सम्भावना छ त्यस तर्फ नयाँ बहस चलाउन पनि आग्रह गर्नुभयो । ‘आईटी शरहको रुपमा परिचित नयाँ हैदरावाद बनाउन सकिन्छ की, अथवा डिजिटल एजुकेशन बनाउन सकिन्छ की, त्यस तर्फ नयाँ बहस हुन आवश्यक छ ।’ उहाँले भन्नुभयो–‘यस क्षेत्रमा काम गर्नेहरु तयार नभईकन डिजिटल प्रदेश बनाउन सकिँदैन ।’

मेला आयोजक क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले प्रदेश पाँचलाई सूचना प्रविधियुक्त प्रदेश बनाउन सहयोग गर्नकालागि आम नागरिकलाई सूचना प्रविधिका क्षेत्रमा जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी गराउनु भयो ।

यहि फागुनको ७ गतेसम्म सञ्चालन गरिने इन्फोटेकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धि कम्प्युटर हार्डवेयर, मेन्टिनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोसिज, डिलर र डिष्ट्रिव्यूटर्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् तथा नेपाली बिद्यार्थीले बनाएका प्रविधियुक्त हार्डवेयर तथा सफ्टवेयरसंग सम्बन्धि सामाग्रिहरु, डोन, विद्युतीय वाईक, स्मार्ट होम लगायतका ९० भन्दा बढी कम्पनीका १४० स्टल रहेका छन् ।

इन्फोटेकको उद्घाटन कार्यक्रममा नेकपा प्रदेश पाँचका प्रमुख सचेतक भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायतले भनाई राख्नुभएको थियो ।