२१ औं तिलोत्तमा गोल्डकप फूटवल सुरु : उद्घाटन खेलमा एपिएफ बिरुद्ध झापा ११ को सहज जित

1.3K

२१ औं तिलोत्तमा गोल्डकप फूटवल सुरु : उद्घाटन खेलमा एपिएफ बिरुद्ध झापा ११ को सहज जित


बुटवल, ४ फागुन । पश्चिम नेपालमै पुरानो ईतिहास बोकेको प्रतिष्ठित ‘२१ औं तिलोत्तमा गोल्डकप नकआउट फूटवल प्रतिोगिता’ शनिबारदेखि बुटवलमा शुरु भएको छ । जिल्ला फूटवल संघ रुपन्देहीको आयोजनामा बुटवल देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गर्नुभएको हो ।

बुटवल उपमहानगरपालिका संरक्षक रहेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै मेयर सुवेदीले राष्ट्रिय स्तरका खेलहरु सञ्चालन गर्न सक्नेगरी तीन वर्ष भित्रमै बुटवलमा स्तरीय निर्माण गरिने बताउनु भयो । बुटवल नगरपालिकाको सहयोगमा २०३१ सालमा स्थापना भएको तिलोत्तमा गोल्डकप फूटवल प्रतियोगिता २०३३ सालदेखि सुरु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला फूटवल संघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले खेलकुदको बिकासकालागि गुरु योजना बनाएर अंगाडी बढ्न नगरपालिकालाई आग्रह गर्नुभयो । उहाँले प्रतियोगिताबाट बचेको पैसा सामाजिक सेवामा खर्च गरिने पनि जानकारी गराउनु भयो । त्यस्तै अखिल नेपाल फूटवल संघका अध्यक्ष कर्मा छिरिङ् शेर्पाले तिलोत्तमा गोल्डकप पश्चिम नेपालकै प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको बताउँदै यो प्रतियोगितालाई एन्फाले ए ग्रेडमा ग्रेडिङ् गरेको जानकारी दिनुभयो । त्यस्तै जिल्ला खेलकुद बिकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ्ले रुपन्देही जिल्लामा खेलकुदले गति लिएको बताउँदै यो गतिलाई अझै बढाउने गरी स्थानीय, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नुपर्ने भनाई राख्नुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ क्लव र झापा ११ ले प्रतिपर्धा गरेका थिए । खेलको सुरुवाती चरणदेखि नै कमजोर देखिएको ससस्त्र प्रहरीको एपिएफ क्वल बिरुद्ध झापा–११ ले सहज जित हात पारेको छ । झापा–११ ले २ शुन्य गोल अन्तरले जित हात पारेको हो ।

खेलको सुरुवाती समय ८ औं मिनेटमा झापा–११ कर्ण लिम्बुले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिएका थिए । यसपछि पहिलो हाफमा दुबै टिमले अरु गोल भने गर्न सकेनन् । त्यस्तै दोस्रो हाफको पाचौं मिनेटमा झापा–११ का अर्का खेलाडी बुद्धबल तामाङ्ले अर्को गोल गरेका थिए ।

यहि फागुनको १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एपिएफ, झापा ११ सहित लाली रुपन्देही ११, डउफिन्स एफसी क्यामरुन, ब्रदर्श युनाईटेड भारत, सुनसरी ११, नेपाल पुलिस क्वल, मनाङ मस्र्याङदी क्लव काठमाण्डौ, संकटा क्लव काठमाण्डौ र च्यासल युथ क्लब काठमाण्डौ गरी १० टिम प्रतिस्पर्धामा छन् । आज आईतबार आयोजक लाली रुपन्देही ११ र सुनसरी ११ बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ८ लाख ८० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय हुने टिमलाई ५ लाख ५० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला फूटवल संघ रुपन्देहीले जनाएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुने एकजना खेलाडीलाई स्कुटर, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही २५ हजार रुपैंया पुरस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।