उडिरहेको हेलिकोप्टरमै बच्चा जन्मियो

908

उडिरहेको हेलिकोप्टरमै बच्चा जन्मियो

Helicoptor_517334607

काठमाडौं: सोलुखुम्बु चौलीखर्ककी एक गर्भवती महिलाले हेलिकोप्टरमै बच्चा जन्माएकी छन्। दुई दिनदेखि बिरामी खत्री थरकी ती महिलाले बच्चा जन्माउन नसकेपछि सिम्रिक एयरको हेलिकोप्टर उद्धारका लागि सोमबार बिहान त्यसतर्फ गएको थियो। हेलिकोप्टर बिरामी लिएर उपचारका लागि काठमाडौं आउँदै गर्दा जिरी नजिक आइपुगेपछि उडिरहेकै बेला बच्चा जन्मिएको थियो।
हेलिकोप्टरका क्याप्टेन विवेक खड्काले भने, ‘उड्दै गरेका बेला पछाडिबाट केही भनेजस्तो लाग्यो। मैले हेडसेट दिएर लगाउन भनें र के भो भनेर सोधें, उहाँले बच्चा जन्मियो भन्नुभयो।’
बच्चा जन्मिएपछि सुत्केरी महिलाका पति र अर्की एकजना आफन्त महिलालाई हेलिकोप्टर बीच बाटोमै अवतरण गर्ने कि भनेर खड्काले सोधेका थिए। ‘उहाँहरूले काठमाडौं नै लैजाने बताएपछि मैले काठमाडौं ल्याइपुर्‍याएँ,’ खड्काले भने।
सुत्केरी महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा रहेको एम्बुलेन्समा राखेर उनका आफन्तले अस्पताल लगेका छन्। हेलिकोप्टरमा जन्मिएको बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको आफन्तले बताए।
हेलिकोप्टरमै जन्मिएको बच्चालाई क्याप्टेन खड्काले भने फेसबुकमा ‘हेलिकोप्टर ब्वाई’ नाम दिएका छन्।