बुटवल, ११ फागुन । पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा दोस्रो ‘बुटवल लुम्बिनी खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिता’ शनिवार देखि शुरु भएको छ । रुपन्देही लन टेनिस संघ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा शुरु भएको दोस्रो संस्करण १६ गते सम्म संचालन हुनेछ ।
प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै भौतिक पुर्वाधार र खेलकुदका गतिविधीलाई हेर्दा काठमाण्डौ र पोखरापछि बुटवल खेलकुदमा तेस्रो शहरका रुपमा उदाएको बताउनु भयो ।
मेयर सुवेदीले प्रदेश कै नमुना खेल मैदानका रुपमा उजिरसिंह जवई खेलमैदान ३३ करोडको लगानीमा निर्माण प्रकृया अगाडी बढाईएको समेत बताउनु भयो ।
प्रतियोगितामा ४ महिला सहित ७४ जनाको सहभागिता रहेको रुपन्देही लन टेनिस संघ अध्यक्ष अशोक गुरुङ्ले बताउनु भयो । उद्घाटन समारोहमा लन टेनिस संघकी केन्द्रिय अध्यक्ष ज्योती राणा, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवाली लगायतले खेल पर्यटनको माध्यमवाट आर्थिक उपार्जन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
प्रतियोगिताको मेन्स सिगलतर्फको विजेताले कप सहित ५० हजार, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार सहित कप, मेडल, प्रमाणपत्र पुरस्कार पाउने छन् ।
यसैगरि महिला सिगलतर्फको उपाधि विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार,कप, मेडल, प्रमाणपत्र पुरस्कार पाउने छन् । मेन्स सिंगल ३५ प्लसतर्फ प्रथमलाई नगद ३५ हजार र दोस्रो नगद २० हजार, मेन्स डबल्स ३५ प्लसतर्फ प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, मेन्स सिगल ४५ प्लसको प्रथमलाई नगद २० हजार र दोस्रोले नगद १० हजार, मेन्स डबल्स ४५ प्लस प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, मेन्स सिगल ५५ प्ससको प्रथमलाई नगद २० हजार र दोस्रोलाई नगद १० हजार तथा मेन्स डबल्स ५५ प्लसको प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, कप, मेडल र प्रमाणपत्र पाउने छन् ।
