प्रेमनारायण आचार्य/
सन्धिखर्क, १४ फागुन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाबाट रोजगारीकालागि भारत गएका श्रमिकहरुको ७ लाख बराबरको निशुल्क दुर्घटना विमा सुरु भएको छ । अन्य देशमा जाने मानिसहरुको अनिबार्य विमा गर्नु पर्ने नियम भएपनि भारतमा जाने मानिसहरु विमा विनानै जाने गरेका छन् । महिला सहकारीलाई सक्षम रुपमा अगाडी बढाई सहकारीका सदस्यलाई आत्मनिर्भर बनाउन काम गरिहेको संस्था जनचेतना सरोकार मञ्चले अक्सफार्मको सहयोगमा र भुमिकास्थान नगरपालिकाको सहकार्यमा प्रभु इन्स्योरेन्स लिमिटेड मार्फत निःशुल्क दुर्घटना विमाको सेवा ल्याएको हो ।
भुमिकास्थान नगरपालिकाको वाड नम्वर ४ धारापानीमा रहेको शसक्तिकरण महिला कृषि सहकारी सस्थाले वाड नम्वर ३ र ४ मा स्थायी घर भई रोजगारीको सिलसिलामा रहेका ६३ जनाको निःशुल्क विमा गरि विमाको सुरुवात गरिएको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताउनु भयो ।
सोही अनुसारको विमालेख पत्र मंगलबार एक कार्यक्रमका विच नगर प्रमुख रेशम थापाले शसक्तिकरण महिला कृषि सहकारी सस्थाकी अध्यक्ष सीता खड्कालाई हस्तान्तरण गर्नुभयो । भुमिकास्थान नगरपालिकाको १, २, ३, ४ र ९ नम्वर वडा बाट मात्रै करिव २ हजार जना रोजगारीकोलागि भारतमा छन् । शसक्तिकरण महिला सहकारी संगसंगै ढाकाबांगमा रहेको भुमिकास्थान नगरपालिकामा रहेका वार्ड– १ मा रहेको जनचेतना महिला कृषि सहकारी सस्था, र ९ मा रहेको गंगा जमुना महिला बचत तथा ऋण सहकारीले निशुल्क विमाको कार्य गर्नेछन् ।
रोजगारीकालागि भारतमा गएर असुरक्षित रुपमा काम गरिरहेका श्रमीकहरुको समस्या समाधान गर्न निशुल्क विमाको सुरुवात गरिएको जनचेतना सरोकार मञ्चका ब्यबस्थापक युवराज ज्ञवालीले बताउनु भयो ।
विमा गरेका ब्यक्तिहरुको भारतमा रोजगारीको सिलसिलामा ज्यान गएमा ७ लाख, स्थायी पुर्ण रुपमा असक्त भएमा ७ लाख, अस्थायी अपांग भएमा ३ लाख ५० हजार र उपचार गर्नु पर्ने भएमा रु ७० हजार रुपैंया प्राप्त गर्ने छन् । विमा गर्नकोलागि कुनैपनि रकम तिर्नु पर्दैन । एक ब्यक्तिको जम्मा ६ सय ९८ रुपैयामा विमा हुन्छ । तर त्यो रकम पनि जनचेतना सरोकार मञ्चलेनै ब्यबस्था गरेको छ । विमा मार्फत प्राप्त हुने कमिसन पनि सहकारीलेनै प्राप्त गर्नेछन् ।
