बुटवल, १८ फागुन । नेपालमा अपांगता भएका व्यक्तिहरुको खेलकुद प्रतिभालाई उजागर गर्नकालागि नेपालमै पहिलो पटक बुटवलमा राष्ट्रिय स्तरको ह्वील चियर बास्केटवल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले बताएका छन् । यहि फागुनको २४ र २५ गते आयोजना गरिएको प्रतियोगिताकालागि सहभागि टिम दर्ता र उनीहरुको आवासको व्यबस्थापन सहित आधारभूत तयारीका काम पुरा गरिसकिएको आयोजक नेपाल स्पाईलन कर्ड इन्जरी खेलकुद संघकी उपाध्यक्ष देवी आचार्यले बताउनु भयो ।
नारी दिवसको अवसरमा अवसर पारेर लायन्स क्लव अफ बुटवल सयपत्रीसंगको संयुक्त आयोजनामा सञ्चालन गर्न लागिएको प्रतियोगिताकालागि ‘वालेट अफ मोवाईलमा’ भन्ने नारासहित प्रभू पे नामक डिजिटल वालेटले मुख्य प्रायोजकको भूमिका निर्वाह गरेको छ । आयोजकले यस प्रतियोगितालाई ‘प्रदेश स्तरीय प्रभु पे ह्वील चियर बास्केटवल प्रतियोगिता’ को रुपमा प्रचार प्रसार गर्दै आएका छन् ।
प्रतियोगिताको जानकारी गराउनकालागि शनिबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लायन्स क्लव अफ बुटवल सयपत्रीकी अध्यक्ष रोषनी पाण्डेले यस प्रतियोगिताले अपांगता भएका व्यक्तिहरुको शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक अवस्थालाई बृद्धि गरि आत्मनिर्भर बनाउने कुराको अपेक्षा गरिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै लायन्स ३२५ बि टुका पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठले बुटवलमा आयोजना गरिएको प्रतियोगिता यस क्षेत्रकै गौरव र अपांगता भएका व्यक्तिहरुकालागि सम्मान भएको उल्ल्लेख गर्नुभयो ।
बुटवलको देवीनगर स्थित भूपू सैनिक कल्याण क्लवलमा सञ्चालन गरिने प्रतियोगितामा सात वटा प्रदेशबाट पूरुषका ७ वटा टिम र प्रदेश नं. १, ३, ५ र सुदुरपश्चिमबाट महिलाका एक एक गरि ४ वटा टोलीको सहभागिता रहने छ । प्रतियोगितामा नेपाली सेनाको विभागीय टोली सहित महिला र पुरुष गरी १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा दुबै समुहबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः समान २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने बताईएको छ ।