गौतमबुद्ध विमानस्थलको व्यवस्थापनमा जर्मन ईच्छुक

1.3K

गौतमबुद्ध विमानस्थलको व्यवस्थापनमा जर्मन ईच्छुक

बुटवल, १९ फागुन । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलसंग मित्रराष्ट्र जर्मनीका राजदुत रोल्याण्ड स्याफर सहितको एक टोलीले आईतवार भेट गरेको छ ।
भेटका क्रममा राजदुत रोल्याण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिनुभयो । भेटमा राजदुत स्याफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताउनुभयो । उहाँले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकुल कानुनी वातावरण, तालिमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी समेत लिएको छ ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले संघीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको, प्रदेश सरकारले अहिले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा संघीय संरचना अनुसार सांगठनिक संरचना तयार भएको जानकारी दिनुभयो ।
उहाँले संघीयता कार्यान्वयनका क्रममा विश्वका अनुभव अध्ययन गर्ने क्रममा जर्मनीको अनुभव पनि अध्ययन गरेको र नेपालको संघीयता मौलिक चरित्रको भएको बताउनुभयो । उहाँले प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको तथा नेपालको विकास प्रयासमा यो प्रदेशलाई नमूना बनाउन खोजेको जानकारी दिनुभयो ।
उहाँले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेको प्रति पं्रशसा गर्दै प्रदेशको विकास प्रयासमा जर्मनीको सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले जर्मनीका लगानीकर्ता इच्छुक भए स्वागत गर्न तयार रहेको बताउनुभयो ।
भेटमा जर्मन संसदका सदस्य टोविया पीफुगर, बेटिना स्टर्क, गबिइले कट्मार्क, संसदका प्रमुख मोनिका हेइन लगायत सहभागी हुनुहुन्थ्यो ।
भेटमा टोलीले केही दिन अघि हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएकोमा स्तब्ध भएको भन्दै समवेदना र सहानुभूति व्यक्त गरेको छ ।