वडा अध्यक्ष र सचिवको मिलेमतोमा दोस्रो विवाह दर्ता

1.1K

वडा अध्यक्ष र सचिवको मिलेमतोमा दोस्रो विवाह दर्ता

पाल्पा, २० फागुन । स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ९ का अध्यक्ष र सचिवको मिलेमतोमा दोस्रो विवाहको दर्ता गरिदिएका छन् । विवाहित भएको थाहा हुदाहुदै पनि वडा अध्यक्ष शंकरभक्त भण्डारी र वडा सचिव दशरथ भट्टराईको मिलमतोमा विवाह दर्ता भएको हो । अध्यक्ष भण्डारी र सचिव भट्टराईले केही रकम लिएर विवाह दर्ता गराइदिएको स्रोतले बतायो ।
केशव पंगेनीले गएको वैशाखमा पुतली बजार नगरपालिका १३ बस्ने २५ वर्षीय प्रतिमा रेग्मीसंग दोस्रो विवाह गरेका थिए । अध्यक्ष भण्डारी र सचिवलाई सबै कुरा थाहा हुदा हुदै पनि पैसाको चलखेलमा विवाह दर्ता गरिदिएको पंगेनीका जेठी श्रीमती खेमकुमारी पंगेनीले बताउनु भयो ।
केशवराजसंग प्रेम विवाह गर्नुभएकी खेमकुमारीका एक छोरा र दुई छोरी छन् । “जनप्रतिनिधि हुँ जनताको साझा हितमा रहेर काम गर्छौ भनेर हिडेका व्यक्तिबाट नै पैसाको चलखेलमा कानुन विपरित विवाह दर्ता गरिदिएका छन्” खेमकुमारीको गुनासो छ ।
केशवसंग वैवाहिक जीवनमा बाँधिएकी खेमकुमारीले २०६३ साल फागुन २४ गते पति कायम गरिएको नागरिकता देखाउदै उहाँले अध्यक्ष भण्डारी र सचिव दशरथ भट्टराईलाई कारवाही गर्नुपर्ने माग सहित चापाकोट नगरपालिकाको न्यायिक समिति समक्ष निवेदन दर्ता गराउनु भएको छ ।
चापाकोट नगरपालिका वडा नं ९ को कार्यालयको दर्ता रजिष्टरमा २०७५ माघ १३ गते १०००४५ नं मा दर्ता मिति रहेको र केशव पंगेनीले पुतलीवजार नगरपालिका वडा नं १३ बस्ने वर्ष २५ की प्रतिमा रेग्मीसंग २०७५ बैशाख ४ गते विवाह भएको प्रमाण खुलासा भएको छ । वडा सचिव दशरथ भट्टराईले आफुले यस भन्दा अगाडी कुनै गल्ती नगरेको बताउँदै जनप्रतिनिधिको दवाबमा बाध्य भएर गलत कार्य गर्न पुगेको स्वीकार गर्नुभयो । यस बारेमा सबै कुरा सहायक प्रमुख जिल्ला अधिकारी समक्ष जानकारी गराएको छु भन्दै सचिव भट्टराईले सबै कागजपत्र आफुले लगाएको कोटको गोजीबाट निकाली देखाउदै अहिले यस विषय मिडियामा नराख्न मिडियाकर्मी समक्ष अनुरोध समेत गर्नुभयो ।
पहिले जनताले तिरेको कर र सिफारिस दस्तुर वापत लिइने राजस्व लिई अर्धकट्टी रसिद हरायो भनि वडा अध्यक्ष भण्डारी र सचिव भट्टराईले मोटो रकम बुझेको स्रोत बताउँछ । चापाकोट क्षेत्रमा पहिले पनि यस्ता कार्यहरु भइरहन्थे । कर्मचारीतन्त्र भएका बखत यस्ता घटना सधै गुपचापमै रहीरह्यो । स्थानीय तह जनप्रतिधिको नेतृत्वमा चलेकाले जनताले पछिल्लो समय आफु अन्यायमा परेको गुनासो लिएर जान थालेका छन् ।
जनताले निष्पक्ष रुपमा जनप्रतिनिधिले काम गरुन भन्ने चाहना राखेका छन् । तर जनताको मत जितेर नेतृत्व तहसम्म पुगेका जनप्रतिनिधिले नै यस्ता गलत नियतले काम गर्न थालेपछि जनताले प्रश्न गर्न थालेका छन् ।