दुद्धकालिन अवशेष उत्खनन् आवश्यक

1.2K

दुद्धकालिन अवशेष उत्खनन् आवश्यक

बुटवल, २२ फागुन । बुद्ध मालवी देवदहको बिकासकालागि बुद्धकालिन अवशेषहरु उत्खनन् र प्रमाणीकरण आवश्यक रहेको बुधबार देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । देवदहमा ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरु धेरै हुदापनि तिनको प्रचारप्रसार तथा विकासमा सम्वन्धित निकायको चासो कम हुँदा बिकासमा पछाडी परेको उनीहरुले औंल्याए ।
देवदह उद्योग बाणिज्य संघको आयोजनामा देवदहमा सञ्चालित पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा देवदह बुद्धसँग सम्वन्धित क्षेत्र हो÷होईन भन्ने बारे प्रमाणिकरण हुन आवश्यक रहेका बताएका हुन् । देवदह बुद्धको मावली प्रमाणित भएमा त्यसको बिकासमा कुनै शंका नरहेको उनीहरुको भनाई छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले देवदह बुद्धसँग सम्वन्धित क्षेत्र भएकाले यसको विकासमा प्रदेश सरकारको चासो रहेको बताउनु भयो । उहाँले प्रमाणिकरणका लागि उत्खनन् पहिलो प्राथमिकता हुनु पर्ने औंल्याउनु भयो ।
देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी विकास कोषका पुरातत्वविद् हिमाल उप्रेतीले ऐतिहासिक र पर्यटकीय क्षेत्रको सिमांकन गरि संरक्षण गर्ने तथा पुरातात्विक स्थल वरपर भौतिक संरचनाहरु निर्माण नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, देवदह नगरपालिका शिक्षा समितिका प्रमुख हरिलाल अर्याल, देवदह ब्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्, देवदह संरक्षण प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पाण्डे, देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, राप्रपा देवदहका अध्यक्ष माधव रिमाल लगायतले भनाई राख्नुभएको थियो ।
देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालको स्वागत तथा देवदह मेला पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक बासुदेव रिमालको संचालनमा कार्यक्रम भएको थियो । देवदहमा बुद्धसंग सम्बन्धित देवदह, बैरिमाई, कन्यामाई, पाकडी वृक्ष, बंगाला, भवानीपुर, रोहिणी नगर, माथागढी लगायतका क्षेत्र रहेका छन् ।