गाउँपालिका अध्यक्ष र प्रदेशसभाका उम्मेदवारद्वारा नेकपा परित्याग

627

गाउँपालिका अध्यक्ष र प्रदेशसभाका उम्मेदवारद्वारा नेकपा परित्याग


बुटवल, फागुन । सरकारले सुशासनका लागि शुन्य सहनशिलतामा सम्झौता हुन नसक्ने भन्दै गर्दा रुपन्देहीको समरीमाई गाउँपालिकाका अध्यक्ष र प्रदेशसभा सदस्य उम्मेदवारले सत्तारुढ दलले भ्रष्टचारीलाई साथ दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका छन् ।


गाउँपालिका अध्यक्ष जितेन्द्रदेव शुक्ला बब्लु र निजकी श्रीमती रुपन्देही ४(१) की प्रदेशसभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले आईतबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी सयौं कार्यकर्तासहित नेकपा पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हो । सो क्षेत्रबाट नेपाली काँग्रेसका अष्ठभुजा पाठक प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भयो भने शुक्लाकी श्रीमती पल्लवी पराजित हुनुभएको थियो ।


स्थानीय तहको निर्वाचनमा विजय कुमार गच्छेदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघि तत्कालिन नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।

शुक्ला परिवारलार्ई तत्कालिन एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी प्रवेश गराउनु भएको हो । प्रदेश ५ मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा आफ्नो सहमतिविपरित ‘भ्रष्ट’ कर्मचारी मुस्लिम खान र प्रमिला सिंहलाई राखेको भन्दै अध्यक्ष शुक्लाले असन्तुष्टि जनाउनु भएको थियो ।

अध्यक्ष शुक्लाले नेकपाले मर्चवारका जनतालाई वेवास्ता गरेको र पार्टीका बिभिन्न समिति गठन तथा अन्य कार्यक्रममा कुनै वास्ता नगरेकाले बाध्य भएर पार्टी परित्याग गरेको बताउनु भयो ।

उहाँले गाउँपालिका तथा वडा तहमा समिति गठन गर्दा, सपथ गराउंदा र अन्य कार्यक्रम गर्दा आफुहरुलाई वेवास्ता गरेको र मर्चवारका पार्टी नेताहरुले समेत आफुहरुको अपमान हुने ढंगले व्यवहार गरिरहेकाले पार्टी छोड्नु परेको बताउनु भयो । नेकपा परित्याग गरेपनि कुन दल प्रवेश गर्ने भन्ने तत्काल निर्णय नगरेको उहाँले बताउनु भयो ।