‘प्रेसको घाटी निमोठ्ने विधेयक मान्य हुँदैन’

413

‘प्रेसको घाटी निमोठ्ने विधेयक मान्य हुँदैन’

बुटवल, २८ फागुन । प्रदेश पाँचमा सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशन सम्बन्धि विधेयक सदाकालागि सरकारमा रहिरहन्छु भन्ने ध्येयका साथ मस्यौदा तयार भएको मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् ।
सत्तामा रहेका व्यक्तिहरु अनन्तकालसम्म पनि सत्तामै रहिरहन्छु भन्ने हिसावले मस्यौदा तयार भएको बताउँदै उनीहरुले त्यो विधेयक पारित भएमा मस्यौदा गर्ने व्यक्तिकालागि समेत घातक हुने औंल्याए ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले मंगलबार बुटवलमा गरेको उक्त विधेयक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा विधेयक निर्माणमा उदार बन्न सरकारलाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै प्रदेश मामिला तथा कानून समितिकी सभापति दामा शर्माले प्रदेशका सबै संरचना नयाँ भएकाले हतारोमा ड्राफ्ट गर्दा केही त्रुटीहरु भएको हुन सक्ने बताउँदै आएका सुझावका आधारमा सुधार गरिने बताउनु भयो । उहाँले भन्नुभयो–‘छलफलमा आएका सुझावलाई समेटेर अंगाडी बढ्छौं ।’
कानून मस्यौदा तथा सुझाव आयोगकी सदस्य विष्णु पोखरेलले कानून बनाउने कुरा जटिल भएकाले बिधेयकमा छुटेका कुरालाई समावेश गर्ने र सुधार गर्नुपर्ने कुरालाई प्राप्त राय सुझावका आधारमा सुधार गरिने बताउनु भयो । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव हरिसिंह धामीले विधेयकमाथि भएका त्रुटि छलफलमार्फत सच्याउन सकिने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले विधेयकको प्रस्तावना तथा परिभाषा नै गलत भएको बताउँदै मिडिया सम्बन्धि विधेयक ल्याउँदा मिडिया सम्वद्ध व्यक्तिहरुसंग छलफल नै नगरि ल्याउनु गलत भएको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्र हुनेगरी विधेयक नल्याए स्वीकार नगर्ने चेतावनी दिँदै अन्तिममा आएर फड्के किनाराको साक्षि मात्रै नबनाउन आग्रह गर्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा पूर्व सांसद बिनोद पहाडीले प्रदेश सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री नभएको टिप्पणी गर्दै प्रेसको घाटी निमोठ्ने गरी आउने विधेयक मान्य नहुने उल्लेख गर्नुभयो ।
पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरेले प्रस्तावित छापाखाना र प्रकाशन सम्बन्धी विधेयकबारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै पत्रकार माधव नेपाल र अधिवक्ता बाबुराम पाण्डेले अवधारणा पत्रमाथि टिप्पणी गर्दै अवधारणाले समग्र पत्रकारिताको मर्म अनुसार उठान गर्नुपर्ने कुराहरु उठान गर्न नसकेको टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले सरकारले विधेयक मार्फत मिडियालाई संकुचन गर्न खोजिएको बताउँनु भयो