शान्ति सुरक्षाको भयावह स्थितिलाई नियन्त्रण गर्नुपर्छ : महत

1.3K

शान्ति सुरक्षाको भयावह स्थितिलाई नियन्त्रण गर्नुपर्छ : महत

बुटवल, १ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले नेत्रबिक्रम चन्द विप्लव समुहलाई प्रतिवन्ध लगाएपनि उसका गतिबिधिलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउनु भएको छ ।

उहाँले मुलुकमा शान्ति सुरक्षाको स्थिति भयावह बन्दै गएको बताउँदै त्यसलाई नियन्त्रण नगर्दा सम्म मुलुकमा लगानी आकर्षण हुन नसक्ने प्रतिकृया दिनुभयो । ‘शान्ति सुरक्षाको भयावह स्थितीलाई नियन्त्रण गर्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘क्याविनेटले विप्लव समुहलाई काजगमा प्रतिवन्ध गरेपनि व्यबहारिक रुपमा सरकारले नियन्त्रणकालागि गरेको प्रयास सकारात्मक देखिँदैन ।’

सरकारले मुलुकको अहिलेको प्राथमिकता भन्दा पनि सपना बाँड्ने मात्रै काम गरेको उहाँले आरोप लगाउनु भयो । उहाँले सरकारले मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेकै कारण मुलुकमा बैदेशिक लगानी गुम्दै गएको बताउनु भएको उल्लेख गर्नुभयो ।

रिपोटर्स क्लवले शुक्रबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मुलुकमा लगानी कर्तालाई तर्साउने काम भईरहेको र त्यसको नियन्त्रणमा सरकार गम्भिर नभएको उल्लेख गर्नुभयो । उहाँले सरकारले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई लगाएको कागजी प्रतिवन्धले मात्रै शान्ति सुरक्षा सुढृण हुन नसक्ने बताउँदै नागरिकले पूर्ण सुरक्षाको प्रत्याभूति गर्नेगरी व्यबहारिक काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले बिखण्डनवादी सोंच बोकेको सिके राउतलाई मुल धारमा ल्याउनु स्वागत योग्य भएपनि सम्झौतामा विवादास्पद भएकै कारण अहिले सरकार र सिके पक्षबाटै आफ्नो आफ्नो पक्षमा सम्झौतालाई परिभाषित गर्न थालिसकेको बताउँदै यसले मुलुककालागि सकारात्मक नभएको टिप्पणी गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य महतले पार्टी एक भएको दावी गर्दै सामान्य समस्या हुनु स्वभाविकै भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो–‘पार्टी सधै एक छ, आन्तरिक व्यबस्थापनमा केही समस्या भएको मात्रै हो ।’ उहाँले पार्टी भित्र अलिअलि गुटबन्दी भएकाले केही समस्या भएको स्वीकार गर्नुभयो ।