सरकार बिरुद्ध संघर्ष गर्नुहोस : सभापति देउवा

1.3K

सरकार बिरुद्ध संघर्ष गर्नुहोस : सभापति देउवा

बुटवल, १ चैत । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विरुद्ध संघर्ष जारी राख्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

शनिबारदेखि पाल्पामा हुन लागेको नेपाल मगर संघको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनकालागि पाल्पा जाने क्रममा शुक्रबार रुपन्देहीको देवदहमा आयोजित शोक सभामा बोल्दै उहाँले वर्तमान सरकारले विपक्षि दलका नेता कार्यकर्तालाई समाप्त पार्ने काम गरेकाले सरकारका बिरुद्ध संघर्ष जारी राखिरहनु पर्ने बताउनु भएको हो । सभापति देउवाले वर्तमान सरकारले नागरिकको शान्ति सुरक्षामा तदारुक्ता नदेखाएको औंल्याउँदै अपराधलाई प्रसय दिने काम मात्रै गरेको आरोप लगाउनु भयो ।

उहाँले सरकारसंगको सम्झौतापछि सिकेराउतका क्रियाकलाप गलत भएको टिप्पणी गर्दै विप्लवलाई शान्तिको बाटोमा ल्याउनुका साटो प्रतिवन्ध लगाएर सरकार आफैले भूमिगत बनाउने र समाजमा अशान्ति फैल्याउने काम गरेको आरोप लगाउनु भयो । सभापति देउवाले शान्ति सुरक्षामा खलल पु¥याउन र मुलुकलाई विखण्डन गर्ने काम गर्न कसैलाई पनि छुट नभएको बताउँदै सिके राउत र विप्लव दुबैलाई शान्तिको मार्गमा हिँड्न आग्रह गर्नुभयो ।

यहि फागुनको २५ गते राती हत्या गरिएका तरुण दल देवदह नगर समितिका सदस्य अनिस पुरीको शोकसभामा बोल्दै उहाँले पार्टी कार्यकर्तालाई एक ढिक्का हुन पनि आग्रह गर्नुभयो । नेपाली काँग्रेस रुपन्देहीले आयोजना गरेको शोक सभामा पार्टीका नेताहरु प्रकाशसरण महत, रामशरण महत, बालकृष्ण खाँण, भिष्म आङ्दम्बे, रुपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा देवदहका मेयर हिराबहादुर खत्री, नगर सभापति गुणखर भुर्तेल लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस अंगाडी सभापति देउवालाई २०४० सालमा पार्टी संगठन बिस्तारका क्रममा तत्कालिन महामन्त्री गिरीजाप्रसाद कोईराला माथी सांघातिक आक्रमण भएको स्थान सुरजपुरा स्थित तत्कालिन जिल्ला सभापति पुष्पानन्द गिरीको घर समेत अवलोकन गराईएको थियो । उक्त सांघातिक आक्रमणमा सभापति देउवाको समेत ओठ काटेको थियो ।