बुटवल, ७ चैत । रुपन्देहीमा होली खेल्दै हुलहुज्जत तथा होहल्ला गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । होलीको समयमा बिहिबार मात्रै रुपन्देही जिल्लामा ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने, मोटर साईकल चलाउँदा हेलमेट नलगाउने, सवारी साधन ओभर स्पिडमा चलाउने, हुल हुज्जत गर्ने ३७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै प्रहरीले रुपन्देही जिल्ला भरिबाट दिउँसो ३ बजेसम्म एउटा कार र ५१ वटा मोटर साईकललाई नियन्त्रणमा लिएको पनि उहाँले जानकारी गराउनु भयो । समग्रमा होलीको दिन बिहिबार जिल्लामा एउटा पनि दुर्घटना भएको छैन भने शान्ति सुरक्षा पनि चुस्त रहेको प्रहरीले जनाएको छ । रुपन्देही जिल्ला भरीमा बिहिबार होलीको रौनक उत्साहपूर्ण देखिएको छ । बिशेष गरेर बढी मात्रामा युवा युवतीहरुले होलीको मजा लिएको देखिन्छ ।
त्यस्तै पाल्पा भैरवस्थान रुपन्देही परिवारले पनि बिहिबार बुटवलमा परम्परागत रुपमा खेलिने फाहु खेलेका छन् । परम्परागत रुपमा पाल्पामा खेलिने फागु पाल्पा भैरवस्थान रुपन्देही परिवारले परम्परागत टेम्का, ढोलक, मजुरा बजाउँदै गित गाउने नाच्ने गरेर होली मनाईएको परिवारका अध्यक्ष केशव खनालले बताउनु भयो ।
त्यस्तै गरी नेपाल पत्रकार महासंघ रुपन्देहीले पनि बिहिबार महासंघको कार्यालय परिसरमा होली मिलन कार्यक्रम गरेको थियो । यस बाहेर बिहिन्न संघसंस्थाहरुले छुट्टा छुट्टै होली कार्यक्रम गरेर रमाईलो गरेका छन् ।
तस्वीरहरु : रेनुका गिरी