बुलिङ्टारमा अध्यक्ष र अधिकृतबीच विवाद

519

बुलिङ्टारमा अध्यक्ष र अधिकृतबीच विवाद

नवलपरासी, ९ चैत्र । पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद बढेको छ । बढ्दो विवादले भनाभनको रुप लिएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितका ३ जना कर्मचारी गाउँ छाडेर सदरमुकाम कावासोती आएका छन् । उनीहरुले आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर मन्त्रालयमा हाजिर हुन जानेसम्मको तयारी गरेका छन् ।

बुलिङ्टार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले गाउँपालिकाका अध्यक्ष शशि बस्ताकोटीले आफुले भने अनुसारको काम नगरेको भन्दै गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत सहित ३ जनालाई कामबाट निकालिदिएको बताउनुभयो ।
अध्यक्ष बस्ताकोटीले भने जनप्रतिनिधि नहुँदाको जस्तो गरेर कार्यालय चलाउन खोजेको भन्दै जनप्रतिनिधिलाई बाइपास गरेर काम गर्ने हो भने आफूलाई यस्तो कर्मचारी नचाहिएको भनेर बताएको तर कार्यालयमै आउने नदिने गरी जिम्मेवारीबाट नहटाएको बताउनु भयो । उहाँले भन्नुभयो– ‘निजामति कर्मचारीलाई हामीले हटाउन मिल्दैन । मेरो कुरा यति हो । जनप्रतिनिधि नहुँदा जसरी गाविस कार्यालय चल्ने गर्दथ्यो त्यसरी चलाउने भए हामी किन चाहियो ?’ कार्यालयमा काम गर्ने वातावरण नभएको भन्दै सदरमुकाम कावासोती झरेर बस्ने कर्मचारीमा बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी, लेखापाल रघु काफ्ले र इन्जिनियर संजय कुमाल रहेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो– ‘स्थानीय तहमा भएका नदिजन्य पदार्थ ठेक्का टेण्डरमा लैजाने कुरामा गाउँपालिकाका अध्यक्षको चित्त बुझेन । पछि प्रक्रिया पुरागरी टेण्डर गरिसकेपछि अध्यक्ष स्वयंले नियम विपरित खोलामा टेक्टर हाल्न लगाएपछि त्यसलाई रोक्न प्रहरी प्रशासन लगाउदा समेत नियन्त्रण गर्न सकिएन । पछि आफै खोलामा पुगेर जोरजवर्जस्ति नदीजन्य पदार्थ निकासी गर्ने ढुवानीको साधन नियन्त्रणमा लिदा अध्यक्ष बस्ताकोटीले यहाँ जनप्रतिनिधिको राज चल्छ, कर्मचारीको राज चल्दैन, जनता उठाएर लखेटिन्छ भनेर धम्की दिएकाले ज्यानकै असुरक्षा महशुस गरी कार्यालयमा बस्न नसकेर कावासोती आएका हौं ।’

तर अध्यक्ष बस्ताकोटीले भने ठेक्का टेण्डर खोल्ने बेलामा समेत आफूलाई रोहवरमा नराखेर प्रमुख अधिकारीले मनपरी ढंगले एक्लै ठेक्का खोल्ने र सदर गर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो– ‘टेण्डर प्रक्रियाका विषयमा आफ्नो विमति होइन, गाउँपालिकाको आम्दानी हुने स्रोत नै त्यही हो । तर, प्रक्रिया र पद्दति मिलेन । त्यसैमा मेरो विमति हो ।’ क–कसले ठेक्का हाले त्यो पनि थाहा छैन, कसलाई प¥यो त्यो पनि थाहा छैन । कर्मचारी एक्लैले गाउँपालिका चलाउने भए जनप्रतिनिधि किन चाहियो ? अध्यक्ष वस्ताकोटीले प्रश्न गर्नुभयो ।

आफूले कर्मचारीलाई काम गर्न नदिएको नभई प्रमुख प्रशासकीय अधिकृतले आफु सहितका जनप्रतिनिधिहरुलाई काम गर्न नदिएको आरोप अध्यक्ष वस्ताकोटीको छ । अध्यक्ष र प्रशासकीय अधिकृतको विवाद एकातिर छ भने अर्को तिर सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाए पछि नवलपुरका गाउँपालिका र नगरपालिकाहरुमा गाउँपालिका अध्यक्ष, नगरपालिका प्रमुख, वडाध्यक्षहरु सहित कर्मचारीहरु चन्दा माग्ने र राजिनामा माग्ने आतंकले आतंकित भएका छन् ।

नेकपालाई सरकारले प्रतिबन्ध लगाएसँगै सहरमा नेकपाको गतिविधि घटे पनि गाउँकेन्द्रित गतिविधि भने बढेको छ । स्रोतका अनुसार सरकारले प्रतिबन्ध लगाउनु अघिदेखि नै विप्लव कार्यकर्ताहरुले भ्रष्टाचार गर्ने कर्मचारी तथा प्रतिनिधिहरुसँग चन्दा माग्ने गरेका छन् र चन्दा नदिए कारवाही गर्ने चेतावनी दिने गरेका छन् । ‘बाघ कराउने र बाख्रा हराउने एक्कै चोटी’ भने जस्तै सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु र चन्दा आतंकका कारण प्रशासकीय अधिकृत सहितका कर्मचारीले गाउँ छाड्नु एक्कै पटक परको छ । त्यसमाथि गाउँपालिकाका अध्यक्षसँग झगडा भएको बाहनामा गाउँपालिका छाडेर उनले सुरक्षित अवतरण गरेको हुन सक्ने कतिपय स्थानीयले बताएका छन् ।