कला संस्कृति संरक्षणकालागि योजना बनाएर अंगाडी बढ्छौं : मन्त्री गिरी

1.3K

कला संस्कृति संरक्षणकालागि योजना बनाएर अंगाडी बढ्छौं : मन्त्री गिरी


पाल्पा, १४ चैत । विश्व रंगमञ्च दिवसको अवसर पारेर पाल्पाको रिप्दीकोट गाउँपालिकामा बिभिन्न भाषा–भाषि तथा कला संस्कृती सम्बन्धि झाँकी प्रदर्शन गरिएको छ । पाल्पाको रिप्दीकोट गाउँपालिकाको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजित साताव्यापी ‘भैरबस्थान सांस्कृतिक महोत्सव’ समापनका अवसरमा बुधबार गाउँपालिकाको पूर्व सिमा भैरवस्थानको बाहुनडाडादेखि खस्यौलीको हार्थोकसम्म लाखे नाच, मारुन (ठूलो नाच), गाईजात्रा, भजन, तिजगित, लाखे, गाँठेमंगल, फागु लगायतका कला संस्कृतिको झाँकी प्रदर्शन गरिएको हो ।

रिप्दीकोट गाउँपालिका र भैरबस्थान मन्दिर व्यबस्थापन समितिको संयुक्त आयोजनामा भएको भैरवस्थान महोत्सवको समापन समारोहमा बोल्दै प्रदेश पाँच उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले पूर्खाले छोडेर गएको सम्पदा तथा संस्कृति संरक्षणकालागि प्रदेश सरकारले योजना बनाएर अंगाडी बढ्ने बताउनु भयो । उहाँले पर्यटनको बिकासका लागि पर्यटकीय गन्तव्यहरुको बिकासमा समेत सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

त्यस्तै प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस पाल्पाका सभापति बिरबहादुर रानाले बिकास निर्माण तथा समृद्धिको यात्रा एकातिर हुँदा हुँदै पनि केन्द्रीय तथा प्रदेश सरकार अर्को बाटोमा हिडेको आरोप लगाउनु भयो । त्यस्तै अर्का प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले प्रदेश सरकार कला संस्कृति संरक्षण संगै बिकास निर्माणमा केन्द्रीय भएको उल्लेख गर्नुभयो ।
विश्व रंगमञ्च दिवसको अवसर पारेर यहि चैत ७ गतेदेखि रिप्दीकोट गाउँपालिका, भैरबस्थान मन्दिर व्यबस्थापन समिति र गाउँपालिकाको वडा नं. ४ भैरबस्थानको आयोजनामा ‘भैरवस्थान सांस्कृतिक महोत्सव’ सञ्चालन गरिएको थियो ।
समापन कार्यक्रममा सामाजिक तथा सांस्कृतिक संरक्षणमा योगदान पु¥याएका १४ जनालाई सम्मान गरिएको थियो भने महोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदातालाई प्रमाणपत्र वितरण गरिएको भैरवस्थान मन्दिर व्यबस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले जानकारी गराउनु भयो ।

सात दिनसम्म सञ्चालन गरिएको ‘भैरवस्थान सांस्कृतिक महोत्सव’मा गाउँपालिकाका ८ वटै वडाका कला संस्कृति प्रदर्शन गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा महोत्सव आयोजक मुल समितिकी संयोजक लक्ष्मी खनालले बताउनु भयो । गाउँपालिका भित्रका कला संस्कृतिको संरक्षण तथा जगेर्नाकालागि महोत्सव आयोजना गरिएको वडा नं. ४ का अध्यक्ष दुर्गाप्रसाद खनालले जानकारी गराउनु भयो ।