अटो मजदुर फिरोज खानको हत्या : काम गर्ने वातावरण बनाउ माग

1.3K

अटो मजदुर फिरोज खानको हत्या : काम गर्ने वातावरण बनाउ माग

बुटवल, १४ चैत । नेपालकै नमुना मानिएको बुटवल अटोभिलेजमा काम गर्ने एक मजदुर माथि गोली हानी हत्या भएपछि अटोभिलेजका व्यबसायी तथा मजदुरहरुले प्रहरी प्रशासन समक्ष सुरक्षाको माग गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. १ मैनावगर स्थित अटोभिलेजमा काम गर्ने भारतीय नागरिक फिरोज खानको बुधबार राती हत्या भएपछि उनीहरुले बिहिबार ईलाका प्रहरी कार्यलयमा पुगी शान्ति सुरक्षाको प्रत्याभूति गर्नेगरी सुरक्षा प्रवन्ध मिलाउन माग गरेका हुन् ।

नाराजुलुस सहित ईलाका प्रहरी कार्यालय बुटवल पुगेको बुटवल अटो ईञ्जिनियरिङ् एशोसियशनको टोलीले बुझाएको ज्ञापन पत्रमा हत्याप्रति खेद व्यक्त गर्दै श्रीङ्खलावद्ध रुपमा भएका हत्या घटनाले व्यबसाय गर्ने र ती व्यबसायिक प्रतिष्ठानमा काम गर्ने मजदुरलाई सुरक्षा चुनौती बढेको उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझाउँदै एशोसियशनका अध्यक्ष सन्तोष पाण्डेले अटो भिलेज क्षेत्रको शान्ति सुरक्षाकालागि प्रहरी चौकी स्थापना गर्ने विषयमा माग भईरहेको र प्रहरी प्रशासन गम्भिर नभएका कारण अपराधिक गतिबिधि बढेको बताउँदै अवका दिनमा यस्तो घटना हुन नदिनेगरी सुरक्षा प्रवन्ध मिलाउन माग गर्नुभयो । उहाँले दोषीलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न समेत माग गर्नुभयो ।

त्यस्तै अटो व्यबसायी टंकप्रसाद पोखरेलले श्रीङ्खलावद्ध रुपमा भएका हत्या घटनाले व्यबसायी आतंकित भएको बताउँदै अटो भिलेज मात्रै नभएर समग्र बुटवलमै व्यापार व्यबसाय गर्ने वातावरण हराउँदै गएको बताउनु भयो । प्रहरी प्रशासनले अपराधिको नजिक पुगेछौं भनेर जवाफ दिने तर अपराधमा संलग्न व्यक्ति पक्राउ समेत नपर्ने परिपार्टीले नागरिकले ढुक्क भएर व्यबसाय गर्ने वातावरण नभएको उल्लेख गर्नुभयो ।

ज्ञापन पत्र बुझ्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले यथाशक्य चाँडो हत्यारा पक्राउ गर्ने प्रतिवद्धता व्यक्त गर्दै व्यबसायी तथा काम गर्ने मजदुरलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले व्यक्तिको हत्या हुनेगरी भएको घटनाले शान्ति सुरक्षामा खटिएको प्रहरी माथि चुनौती थपिएको बताउँदै यस्ता चुनौतीको प्रहरीले डटेर सामना गर्ने उल्लेख गर्नुभयो । त्यस क्षेत्रको शान्ति सुरक्षाकालागि अटो भिलेज क्षेत्रमा प्रहरी बिट राख्नकालागि आवश्यक पहल गर्ने समेत व्यबसायीलाई आश्वासन दिनुभयो ।

बुटवल मैनावगरमा रहेको ज्योती मोटर पार्टस अटो ग्यारेजमा काम गर्ने ४४ वर्षीय भारतीय नागरिक फिरोज खानको काम सकेर डेरामा फर्किने क्रममा बिहिबार राती करिव आठ बजेको समयमा अज्ञात व्यक्तिले गोली हानेर हत्या भएको थियो । गोली लागेर लडेका खानलाई उपचारकालागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल पु¥याईएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । खान विगत १० वर्षदेखि उक्त ग्यारेजमा हेड मिस्त्रीका रुपमा काम गर्दै आएको बताईएको छ ।

घटनाको अनुसन्धानकालागि प्रहरीले बिशेष टोली बनाएर परिचालन गरेको छ । टोलीले सक्रियताका साथ काम गरेको बताउँदै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले अपराधमा संलग्न व्यक्तिलाई छिटै पक्राउ गरी कानुनी दायरामा ल्याउने बताउनु भयो ।