काउन रुपन्देहीको जिल्ला परिषद

1.3K

काउन रुपन्देहीको जिल्ला परिषद

बुटवल, २३ चैत । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) रुपन्देहीको १८ औं बार्षिक जिल्ला परिषद शनिवार बुटवलमा सम्पन्न भएको छ । जिल्ला परिषदको उदघाटन गर्दै नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवि गुरुङ्ले संघले मजदुरका पक्षमा वकालत गर्ने र उनीहरुका मुद्धालाई पैरवी गर्ने काम गर्दै आईरहेको वताउनु भयो ।

उहाँले निर्माण क्षेत्रका मजदुरहरुको क्षमता अभिबृद्धि, सिप विकास र नेतृत्व विकासका लागि तालिम लगायतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको भन्दै मजदुर वर्गका अन्य समस्या समाधानकालागि पनि केन्द्रले पहल गर्दै आईरहेको वताउनु भयो । राष्ट्र निर्माण गर्ने मजदुर वर्ग नै सरकारको नजरमा पर्न नसकेको भन्दै उहाँले श्रमिक हकाधिकारकालागि श्रम आयोग व्यबस्था गर्न माग गर्नुभयो । उहाँले श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टिकालागि नीति निर्माण तहमा मजदुरको प्रतिनिधित्व अपरिहार्य रहेको बताउनु भयो ।

काउनका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश चौधरीले संघीय संरचना अनुसार काउनको संरचना परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै मजदुरका समस्या समाधानका लागि सवै ईकाईहरु मिलेर जिल्लालाई वलियो वनाउनुपर्ने बताउनु भयो । उहाँले संगठनमा शक्ति हुने भएकाले आफ्ना हक अधिकारकालागि संगठित हुन सबैलाई आह्वान समेत गर्नुभयो । उहाँले अब स्थानीय तहका इकाईहरुको समयानुकुल नाम र संरचना परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

काउनका जिल्ला अध्यक्ष बिरबहादुर लामाको अध्यक्षता र उपाध्यक्ष हिराबहादुर थापाले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश ५ का उपाध्यक्ष कृष्णप्रसाद बेलवासे, पत्रकार खिमानन्द भट्टराई, काउन महिला समिति प्रदेश ५ का उपाध्यक्ष बेचुकुमारी चौधरी, महिला समिति रुपन्देही अध्यक्ष भागमनी चौधरीलगायतले बोल्दै निर्माण क्षेत्रका मजदुरहरुको हक अधिकार र समस्या समाधानका लागि सवै मजदुर वर्ग एक ढिक्का भएर अगाडि वढ्नुपर्ने धारणा राख्नुभयो ।

जिल्ला परिषदमा लेखा संयोजक तथा बुटवल नगर समिति अध्यक्ष सूर्यदेव दासले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र जिल्ला सचिव कृष्णप्रसाद चौधरीले प्रस्तुत गरेको सांगठनिक प्रतिबेदन सर्वसम्मत पारित भएको छ ।