प्रदेश पाँच : सांसदको एक दिनको तलव प्रकोप प्रभावितलाई

508

प्रदेश पाँच : सांसदको एक दिनको तलव प्रकोप प्रभावितलाई


बुटवल, २४ चैत । प्रदेश पाँचका प्रदेशसभा सदस्यहरुले बारा र पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन अघि आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिकको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रदेश सभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ । जस अनुसार एक जना सांसदको १ हजार ५ सय रुपैयाँ हुन आउँछ । प्रदेश पाँचमा ८७ जना प्रदेश सभा सदस्य छन् । जसमध्ये एक जना प्रदेश सभा सदस्यको मुत्यु भएकोले ८६ जना रहेका छन् । यसअघि प्रदेश सरकारले बारा र पर्साका हुरी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको छ ।
यसका साथै प्रदेश नं ५ को प्रदेशसभाको आईतवारको बैठकले औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले विधेयक निर्णयार्थ प्रस्तुत गर्नु भएपछि प्रदेशसभामा सर्वसम्मतिले पारित भएको घोषणा गर्नुएको हो । यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं ५ पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तावमाथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य अमरबहादुर डाँगीले पर्यटकीय आकर्षण बढाउन सांस्कृतिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिनु भएको थियो । प्रदेश सभा सदस्य फकरुद्दिन खानले विधेयकले आन्तरिक पर्यटकका विषयमा स्पष्ट नगरेको भन्दै स्पष्ट पार्न माग गर्नु भएको थियो ।

प्रदेशका कला, संस्कृति र भौगोलिक विविधता पर्यटनको आधार भएको प्रदेशसभा सदस्य कमला विश्वकर्माले बताउनु भयो । सैद्धान्तिक छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले विधेयकमार्फत धेरै विषयलाई स्पष्ट गर्न खोजिएको बताउनु भयोे ।

त्यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश नं ५ तथ्यांक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो । प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले प्रदेश नं ५ प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।

यस्तै जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भवन निर्माण कार्यलाई व्यवस्थित एंव नियमित गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रमाणीकरण गरेको पत्र सभामुख घर्तीले सभामा पढेर सुनाउनु भएको छ ।