अनुदानले कृषिमा महिला आकर्षित

अनुदानले कृषिमा महिला आकर्षित

रेनुका गिरी/
बुटवल, ३० चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका १२ मा महिलाहरुले च्याउ खेती, भकारो सुधार कार्यक्रम र अहिले आएर मकै खेती गर्दै आएका छन् । थोरै लगानीमा राम्रो कमाई हुने भएपछि महिलाहरु कृषि कर्ममा आकर्षित भएका हुन् । विगतमा छिमेकमा गफ गरेर दिन बिताउँने महिलाहरु अहिले खेतीमा लागेर व्यस्त हुने गरेका छन् ।

घरको कामसँगै उनीहरुले अहिले घरमै च्याउ खेती गरेर राम्रो कमाई गरिरहेका छन् । ‘पहिले बेकारमा समय बित्थ्यो । अहिले घरको कामसँगै च्याउँ खेतीमा लागेपछि समयको सदुपयोगसँगै कमाई पनि भएको छ,’ व्यवसायिक खेतीमा लाग्नु भएकी किसान एकता कृषक समूहकी अध्यक्ष सारदादेवी खनालले भन्नुभयो । उहाँले नगरपालिकाले दिने कृषि सम्बन्धी विभिन्न तालिम संगसंगै अनुदान पाएपछि महिलाहरुमा उत्साह छाएको बताउनुभयो । २० जनाको समूह बनाएर सामूहिक रूपमा समूहले भकारो सुधार कार्यक्रमअन्तर्गत गाईभैँसी, बाख्रालगायत विभिन्न पशुको मलमूत्रलाई व्यवस्थित ढङ्गले जोहो गरेर खेतीबारीसम्म पु¥याउन कृषकलाई प्राविधिक र पूर्वाधार विकासमा सहयोग गरेको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १२ को मकै पकेट क्षेत्रमा किसान एकता कृषक समूहले १० कट्ठा क्षेत्रफलमा मकै खेती गरेको छ । मकैखेती नगदेबालिका रुपमा आत्मनिर्भर बनाउन कृषि सञ्जाल मार्फत महिला समूहलाई कृषि प्रविधिहरू हाते १८ एचपी ट्रयाक्टर, सिट ड्रिलर, मकैको बीउ, मल र कर्न सिलर (मकै छोडाउने मेसिन) अनुदान दिएको समूहकी अध्यक्ष खनालले बताउनुभयो । उहाँले नगरपालिकाले महिला किसानलाई परिचालन गराउनुपर्ने पनि बताउनुभयो ।

यसैगरी तिलोत्तमा नगरपालिका वडा नं. ७ मा सामुहिक रुपमा महिलाहरुले पुष्प नर्सरी ब्यवसाय सुरु गरेका छन् । २५ जनाको समूह बनाएर हरियाली कृषक समूहले नगरपालिकाले तालिम संगै दिएको एक लाख अनुदानमा नर्सरी ब्यवसाय सुरु गरेको छ । नर्सरीमा अहिले उनीहरुले टनेल बनाएर फुलहरु ल्याउने काम गर्दैछन् । नगरपलिकामा किसान एकता कृषक समूह र हरियाली कृषक समूह जस्तै अरु कृषक समूहले पनि नगरपालिकाको अनुदान मार्फत तरकारी, फुल ब्यवसाय लगायत गर्दै आईरहेका छन् ।

व्यावसायिक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले दिने अनुदानले महिला किसान उत्साहित भएका छन् । नगरपालिकाले कृषि अन्तर्गत सीप, प्रविधि, अनुदान र मूल्य समर्थनलाई मुख्य प्राथमिकताका साथ अगाडि सारेको छ । सीपअन्तर्गत व्यावसायिक कृषिमा लाग्न चाहने किसानलाई आवश्यकता अनुसारको सीप दिने, प्रविधिमा आवश्यकता अनुसार दक्ष बनाउने, आवश्यकता अनुसारको अनुदान दिने गरेको छ ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले व्यावसायिक कृषिमा लाग्न चाहने तर सीप, प्रविधि, आर्थिक र बजार समस्याबाट त्रस्त किसानलाई ढुक्कसँग कृषिमा लाग्न सक्ने वातावरण तयार गर्न नगरपालिकाले कृषिको आधुनिकीकरण र व्यवसायीकरणको नीति अघि सारेको बताउनु भयो । सीपअन्तर्गत किसान आफैंले गर्न चाहेको व्यवसायलाई सहयोग पुग्ने गरी पहिलो चरणमा सीप सिकाइन्छ । प्रविधिअन्तर्गत किसानको व्यवसायका लागि आवश्यकताअनुसार औजार उपलब्ध गराइन्छ  र अनुदान पनि दिईन्छ उहाँले भन्नुभयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •