बुटवल, ५ बैशाख । आफ्ना नेता कार्यकर्ता पक्राउको बिरोधमा नेत्रबिक्रिम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव प्रदेश पाँचको अस्थायी मुकाम बुटवल तथा आसपासका जिल्लामा पूर्ण रुपमा परेको छ ।
सरकारले उक्त पार्टीलाई प्रतिवन्ध गरेपछि धमाधम आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको बिरोधमा निशर्त रिहाईको माग गर्दै नेकपाले बिहिबार नेपाल बन्द आह्वान गरेको थियो । नेकपाको बन्द आह्वानका कारण यस क्षेत्रका उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्था तथा यातायात पूर्ण रुपमा बन्द भए । बजार क्षेत्रमा हल्काफूल्का रुपमा मोटरसाईकल भने चलेका थिए । यद्यपी बन्द आह्वान गर्ने नेकपाका नेता कार्यकर्ता भने सडकमा थिएनन् ।
यसैबिच रुपन्देही जिल्लाका बिभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएका छन् । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय बनाईदिएको छ । उसले आह्वान गरेको बन्दलाई सफल बनाउनकालागि नागरिकलाई तर्साउने उद्देश्यले विप्लव नेतृत्वको नेकपाले शंकास्पद बस्तु राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
बिहान करिव ४ बजेको समयमा बुटवल १३ सिर्जनानगरमा ठूलो आवाज आएको थियो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले मानिसलाई तर्साउनकालागि बस्तीभन्दा केही पर लगेर सिलिण्डर पड्काएको हुन सक्ने बताउनु भयो । उहाँले भन्नुभयो–‘त्यो बम नै त होईन, मानिसलाई तर्साउनकालागि बस्ती नभएको ठाउँमा लगेर पड्काएको जस्तो देखिन्छ ।’
त्यस्तै रुपन्देहीको कोटिहवा, कञ्चन गाउँपालिका र बुटवलको ट्राफिकचोकमा पनि शंकास्पदबस्तु भेटिएका थिए । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय बनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी गराउनु भयो ।
कोटीहवाको बाउन्नकोटी नजिकै टाईगर प्यालेर होटल जाने बाटोमा र कञ्चन गाउँपालिकाको कार्यालय अंगाडी बाटोमा बिहान शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित भएका थिए । त्यस्तै दिउँसो करिव १ बजेको समयमा बुटवलका अस्पताल लाईन र ट्राफिकचोकको बिच भागमा पर्ने सिद्धार्थ राजमार्ग छेउमा शंकास्पद बस्तु भेटिएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता भण्डारीका अनुसार ती शंकासपदबस्तु बम नभई ढुंगा, गिट्टि लगायतका कुराहरु राखेर नागरिकलाई तर्साउन मात्रै खोजिएको हो । विप्लव नेतृत्वको नेकपाका गतिबिधिलाई सरकारले प्रतिबन्ध लगाएपछि रुपन्देही जिल्लाबाट ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
त्यस्तै पाल्पा जिल्लाको रिप्दीकोट गाउँपालिकाको कार्यालयमा पनि बम बिस्फोट गराईएको छ । राती करिव १ बजेको सयमा भएको बम बिस्फोटबाट झ्यालका सिसाहरु, सेवाग्राही बस्कालागि बनाईएको ट्रस्ट तथा वडा नं. ३ को वडा कार्यालयमा रहेका कम्प्युटर लगायतका सामानमा क्षती पुगेको बताईएको छ ।