बुटवल, ५ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक बिद्यालय र वडा नं. ६ बाह्रनम्बर स्थित मेदिनी आधारभूत बिद्यालयबिच शैक्षिक सहकार्यमा सहमति भएको छ ।
दुबै बिद्यालयका बिद्यालय व्यबस्थापन समितको संयुक्त बैठकले शैक्षिक सहकार्य गर्ने सहमति गरेको हो । दुई बिद्यालय बिचको शैक्षिक सहकार्य सहमति पश्चात अव शान्ति नमुनाले मेदिनीको शैक्षिक वातावरण सुधारकालागि कार्यक्रम गर्नेछ । शान्ति नमुनाले मेदिनीका शिक्षकलाई तालिम प्रदान गर्ने, त्यसका बिद्यार्थीलाई अतिरिक्त कृयाकलापमा सहभागि गराउने तथा अन्य शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने र मेदिनीको शैक्षिक गुणस्तर सुधारकालागि मोनिटरिङ् गर्ने सम्मको सहमति भएको मेदिनी आधारभूत बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष जगतप्रसाद पौडेलले जानकारी गराउनु भयो ।
उक्त बैठकमा शान्ति नमुनाको तर्फबाट बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुलप्रसाद लामिछाने तथा मेदिनीका तर्फबाट बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष जगतप्रसाद पौडेल र प्रधानाध्यापक शरीता पौडेल, समाजसेवी रोमणीप्रसाद पाठक लगायत सहभागि हुनुहुन्थ्यो । अव मेदिनीबाट कक्षा पाँच उतिर्ण गरेका बिद्यार्थीलाई बिना प्रतिस्पर्धा शान्तिनमुनाले कक्षा ६मा भर्ना गर्नेछ ।
त्यसैकालागि बिद्यार्थीलाई प्रतिस्पर्धी क्षमताको बनाउनकालागि शैक्षिक सहकार्य गरिएको शान्ति नमुनाका प्रधानाध्याक कुलप्रसाद लामिछानेले बताउनु भयो । शैक्षिक सहकार्यमा सहमतिसंगै मेदिनीले चालु शैक्षिक सत्रदेखि नर्सरी कक्षादेखि अंग्रेजी माध्यममा कक्षा सञ्चालनको तयारी गरेको छ । शैक्षिक सहकार्यको जानकारीकालागि मेदिनीले यहि बैशाख ११ गते अभिभावक भेला समेत आह्वान गरेको अध्यक्ष पौडेलले जानकारी गराउनु भयो ।