‘बैदेशिक रोजगारी र प्रेमविवाहले सम्बन्ध विच्छेद बढायो’

1.3K

‘बैदेशिक रोजगारी र प्रेमविवाहले सम्बन्ध विच्छेद बढायो’

प्रेमनारायण आचार्य/
सन्धिखर्क, ६ बैशाख । प्रेम विवाह र बैदेशिक रोजगारीका कारण अर्घाखाँचीमा सम्बन्ध बिच्छेद गर्ने दम्पतीको सख्यामा बृद्धि भएको छ । सम्बन्ध बिच्छेद गर्नेमा ८० प्रतिशत भन्दा बढि ३० बर्ष मुनीका छन् । अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्धाहरु मध्ये सबै भन्दा बढी सम्बन्ध बिच्छेदका छन् ।

चालु आर्थिक बर्षको शुक्रबारसम्म जिल्ला अदालत अर्घाखाँचीमा २ सय ३५ मुद्धा दर्ता भएकोमा १०९ वटा मुद्धा सम्बन्ध बिच्छेदका रहेका जिल्ला अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताउनु भयो । उहाँका अनुसार यो संख्या गतवर्ष भन्दा २५ प्रतिशतले बढी हो । त्यस्तै कुल मुद्धाको ४६ प्रतिशत भन्दा बढी सम्बन्ध बिच्छेदका छन् ।

भदौ १ देखि नयाँ संहिता (कानुन) लागु भएको छ । नयाँ कानुन लागु भएपछि २९ जना पुरुषले सम्बन्ध विच्छेदकालागि मुद्धा दर्ता गराएका श्रेस्तेदार घिमिरेले बताउनु भयो । अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका २३५ मुद्धा मध्ये १२० मुद्धा फैसला भएका छन् । अहिलेको तथ्यांकलाई हेर्दा मुद्धा फैसलामा पाँच नम्वर प्रदेशमै अर्घाखाँची प्रथम रहेको उहाँले बताउनु भयो ।

सम्बन्ध बिच्छेदपछि अंश मुद्धा, माना चामल, जबरजस्ती करणी लगायतका मुद्धा बढी छन् । सानो उमेरमै हुने प्रेम विवाह, श्रीमान बिदेशीएको समयमा श्रीमतिका गलत कृयाकलाप, परिवारबाट अनावश्यक आशंका, कलह, पारिवारिक बेमेल लगायतका कारण सम्बन्ध विच्छेदका प्रमुख कारण हुन् । सूचना प्रबिधिको बढ्दो पयोग, समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध, छोराछोरीको चाहना बिपरित घर परिबारले बिबाह गरिदिने प्रबृत्ति, चाहना विपरित गरिदिने कारण पनि सम्बन्ध विच्छेदका घटना बढी भएको अधिवक्ता जगन्नाथ भुसालले बताउनु भयो । ‘सुचना र प्रबिधिको पहुच बढि हुनु र बिलासिताको जीबनयापन गर्ने चाहना राख्नुले पनि बढि सम्बन्ध बिच्छेदका घटना बढेका हुन ।’ उहाँले भन्नुभयो ।

सम्बन्ध बिच्छेद गर्नेमा अधिकाँश ३० बर्ष भित्रका छन । जिल्लाको अबस्था र अन्य धेरै कारणभए पनि प्रेम विवाह र बैदेशिक रोजगारिका कारणले बढि सम्बन्ध बिच्छेदका घटना बढी हुने गरेको उहाँले बताउनु भयो ।