बुटवल, ७ बैशाख । बुटवलको जीतगढी किल्लामा निर्माण गरिएको कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक अनावरण तथा झण्डोत्तोलन गर्न बुटवल आउनु भएका प्रधानमन्त्री केपी ओलीलाई एक युवाले कालो झण्डा देखाएका छन् । सालिक अनावरण तथा झण्डोत्तोलन गरि प्रधानमन्त्रीले सम्बोधन सुरु गरे लगत्तै सामुन्यबाट ‘उजिरसिंह जिन्दाबाद, मेरो देश प्राण भन्दा प्यारो छ’ भन्दै ती युवाले कालो झण्डा देखाएका हुन् ।
प्रधानमन्त्री ओलीले बोल्न सुरु गरेको केही समयमै सुरक्षाकर्मीको घेरा तोड्दै अर्धाखाचीका रुद्रप्रसाद घिमिरेले मञ्च अगाडीको खाली ठाउँमा गएर कालोझण्डा देखाएका थिए । उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।
पत्रकारलाई समेत सुरक्षा जाच गरेर मात्रै कार्यक्रम स्थलमा जान दिईएको थियो । कडा सुरक्षा व्यबस्था विच ती युवा कसरी सुरक्षा घेरा तोडेर कालो झण्डा प्रदर्शन गरे सबै आश्चर्यमा परेका थिए । घिमिरेले कालो झण्डा देखाईरहँदा समेत उनलाई कसैले रोक्ने प्रयास गरेको थिएन । प्रधानमन्त्री आफैले मञ्चबाटै गुनगुनाउनु भएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि प्रधानमन्त्री ओलीले यस्ता सानातिना कुरा हुँदैगर्छन भन्दै दर्शकको ध्यान आफूतिर आकर्षित गर्नुभएको थियो ।