बुटवल, ७ बैशाख । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार विरुद्धका मुद्धालाई पार्टीले पहिलो एजेण्डा बनाउनु पर्ने बताउनु भएको छ । केही समय अंगाडी राष्ट्रपति बिद्यादेवी भण्डारीले भ्रष्टाचार संस्थागत बनेको अभिव्यक्ति दिएको स्मरण गर्दै उहाँले मुलुकमा भईरहेका भ्रष्टाचार तथा अनियमिततामा प्रधानमन्त्री केपी ओली तथा सरकारका प्रवक्ता गोकुल बास्कोटा डिफेन्समा उत्रिनुले भ्रष्टाचार संस्थागत भएको पुष्टि भएको दावी गर्नुभयो ।
वाईड बडी काण्डमा मुछिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको निधनपछि प्रधानमन्त्रीले निर्दोश भएको अभिव्यक्ति दिने र बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका पार्टीका महासचिव बिष्णु पौडेललाई बचाउ गर्दै सरकारका प्रवक्ता बास्कोटाले अभिव्यक्ति दिएकाले भ्रष्टाचारलाई संस्थागत बनाउन र त्यस्ता व्यक्तिको संरक्षणमा सरकार आफै लागेको नेता पौडेलले बताउनु भएको हो ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ ले शनिबार बुटवलमा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका बरिष्ठ नेता पौडेलले वाईड वडी देशको आवश्यकताकालागि नभई कमिसनकालागि खरिद गरिएको आरोप लगाउनु भयो । उहाँले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउन सहयोग गरेवापत विष्णु पौडेलका माध्यमबाट पार्टीलाई समेत ४ करोड रुपैंया चन्दा प्राप्त भएको समाचार आएकाले कम्युनिष्टहरु भ्रष्टाचारलाई संस्थागत गर्ने र देशलाई लुट्ने काममा कृयाशिल भएको आरोप लगाउनु भयो ।
उहाँले दैनिक उपभोग्य बस्तुमा कालोवजारी भएको, सुनकाण्ड, लगायतका बिवषयमा सरकार गुपचुप बसेको र सरकारको छायाँ परेका कारण अख्तियारले समेत गाम्भिर्यता नदेखाएको टिप्पणी गर्नुभयो । वरिष्ठ नेता पौडेलले केपी ओलीको नेतृत्वमा सरकार बनेपछि अहिलेसम्म एउटा पनि काम सुरु गर्न नसकेको तथा काँग्रेसले सुरु गरेका काममा फोटो खिच्ने तथा उद्घाटन गर्ने मात्रै काम गरेको बताउनु भयो ।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सहमहामन्त्री अर्जुनरसिंह केसीले राजाको जस्तै हुकुमी शैलीले देश चल्न नसक्ने बताउँदै प्रधानमन्त्रीलाई लोकतान्त्रिक मुल्य मान्यता अवलम्बन गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकमा भ्रष्टाचार कहालीलाग्दो रुपमा अंगाडी बढेको उल्लेख गर्दै लाउडा काण्डमा ५७ दिनसम्म सदनलाई बन्धक बनाएको कम्युनिष्ट सरकार बिरुद्ध तीन दिनपनि सदन अवरुद्ध गर्न किन सक्दैनौं भन्ने प्रश्न उत्पन्न भएको उल्लेख गर्नुभयो । उहाँले पार्टी भित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले हात मिलाउँदैमा पार्टी एक हुन नसक्ने बताउँदै पार्टी एक हुनकालागि सबैको मन मिल्नु पर्ने धारणा राख्नुभयो ।
त्यस्तै प्रतिनीधि सभा संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले सरकारले कम्युनिष्ट अधिनायकवाद ल्याउन खोजेको आरोप लगाउँदै कम्युनिष्ट अधिनायकवादलाई नेपाली जनताले स्वीकार गर्न नसक्ने बताउनु भयो । उहाँले सभामुख सत्ताको लाचार छायाँ बनेको, राष्ट्रिय सुरक्षा परिषद, न्यायपालिका, निजामती प्रशासन लगायत सबै क्षेत्रलाई प्रधानमन्त्री ओलीले आफ्नो नियन्त्रणमा राखेर नियन्त्रित शासन अभ्यासमा लागेको आरोप लगाउनुभयो ।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले बालुवाटार काण्डमा विवादित बनेका नेकपा महासचिव विष्णु पौडेललाई प्रधानमन्त्रीले जोगाउन लागे कम्युनिष्ट सत्ता धाराशायी हुने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो–‘विष्णु पौडेलको बालुवाटार त गयो गयो, प्रधानमन्त्रीले विष्णु पौडेललाई जोगाउन लागे उहाँको बालुवाटार पनि जानसक्छ ।’ दुई तिहाईको शक्तिशालि सरकारका प्रधानमन्त्रीले संवैधानिक अंगहरुलाई पंगु बनाउने काम बाहेक सामान्य काम पनि गर्न नसकेको आरोप लगाउनु भयो ।
त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य बद्रि पाण्डेले कम्युनिष्ट पार्टीलाई ९ महिने भन्दा बढीको सरकार चलाउने अनुभव नभएकाले यो सरकार पाचै वर्ष सत्तामा रहे जेपायो त्यही गरेर देशलाई कंगाल बनाउने बताउनु भयो । केन्द्रीय सदस्य हरिप्रसाद नेपालले नेपाली काँग्रेसको जस्तो समावेशी विधान एसियामै अरु कसैसंग नभएको बताउनु भयो ।
क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा भएको क्षेत्रीय सम्मेलनमा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रदेश सभा सदस्य रमा अर्याल, महासमिति सदस्य युवराज गिरी, क्षेत्र नं. ३ का सभापति मात्रिका यादव, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, क्षेत्रीय सचिव जोगबहादुर खत्री लगायतले पार्टीका नेता कार्यकर्ता गुटउपगुटमा विभाजित हुँदा पार्टी कमजोर भएको औंल्याउनु भएको थियो ।