
बुटवल ९ बैशाख । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले गफ र हावादारी सपनाबाट मुलुकमा समृद्धि नआउने प्रष्ट पार्नुभएको छ । अहिलेको सरकारले खोक्रा भाषण र प्रचारबाजी मात्रै गरेकाले १३ महिनामा समृद्धिको कुनै संकेत नदेखिएको केसीको दाबी छ ।
रिपोर्टर्स क्लव प्रदेश ५ले बुटवलमा आज(सोमबार) आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले सत्तारुढ नेकपा दल मिलेपनि दिल मिलेको छैन भन्दै योगेश जीहरुले त पुरानै एमाले मागीसक्नु भो भन्नुभयो ।लोकतन्त्रको आवरणमा सरकार सर्बसत्ताबाद र अधिनायकबादको बाटोमा गएको भन्दै पूर्वमन्त्री समेत रहेका केसीले अहिलेको सरकारले संसदीय ब्यवस्था फेल गराउने पो हो की भन्ने चिन्ता लागेको उल्लेख गर्नुभयो ।
नेता केसीले भन्नुभयो– राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गैसक्यो, अब भोलीका दिनमा सिंहदरबार, टँुडिखेल कसरी सुरक्षित हुन्छ, जोसुकै भएपनि सरकारले ढृढताका साथ कारबाही गरोस् ।’सरकार ३३ केजी सुन, बुढिगण्डकी, वाइडवढी, फोर जी, बालुवाटारको जग्गा, निर्मला पन्त हत्या काण्डमा सरकार पूर्णत फेल भएको उहाँको भनाइ छ ।
कसैले सरकारको बिरोधै गर्न नपाउने, लेख्नै नपाउने, बोल्नै नपाउने ? भन्ने प्रश्न गर्दै नेता केसीले लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एक अर्काका परिपुरक हुन भन्दै यस क्षेत्रमा सरकारले हस्तक्षेप गरे सैह्य नहुने चेतावनी दिनुभयो । राष्ट्रिय सुरक्षा बिधेयकले राष्ट्रको हित गर्दैन भन्दै उहाँले सरकारले सैनिक परिचालन हुन सक्ने बाटो देखाएको छ भन्नुभयो ।
प्रधानमन्त्री शक्तिको भोग र शक्तिमा मात्रै केन्द्रित भएका छन्, अधिकार आफैमा केन्द्रित गरेर अधिनायकबादको यात्रामा लागे, नेता केसीको आरोप छ ।गधालाई धोएर गाई बन्दैन छर्लङ्गै छ, सरकार अधिनायकबादको बाटोमा हिँडेको केसीले बताउनुभयो । कुनैपनि नेपालीले सहज नागरिकता पाउनुपर्छ तर बिदेशीले नागरिकलाई नागरिकता बाँड्नु गलत हो नेता केसीले भन्नुभयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता केसीले ब्यक्ति भन्दा पार्टी र पार्टी भन्दा राष्ट्र ठूलो भएको उल्लेख गर्नुभयो ।
उहाँले ठिक समयमा महाधिबेशन हुनुपर्ने भन्दै आउने चैत, बैशाख वा जेठमा महाधिबशेन गर्नैपर्छ, म्याद थपिए कांग्रेस झन् कमजोर र दुर्घटनामा फस्छ भन्नुभयो ।अहिले पार्टीको क्रियाशीलता नबिकरण, नयाँ बितरण, बुथ वडा निर्बाचन प्रकृया थालौं, उहाँको सुझाव छ ।कुनैपनि जिबन्त पार्टीमा गुट उपगुट हुन्छ, कांग्रेसको बिबाद जति सबै महाधिबेशनले सबै टुंगाउछ, बैचारिक पुनर्जागरण हुन्छ’ उहाँको धारणा छ ।
क्लवका प्रदेश ५ संयोजक रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।