
बुटवल, १२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले नागरिकता बिधेयकमा सरकार चुकेको आरोप लगाउनु भएको छ । उहाँले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा पनि सरकार असफल भएको बताउनु भयो । उहाँले भन्नुभयो–‘राष्ट्रियताको बिषयमा सरकारले ढुलमुलको नीति अवलम्वन गरेको छ, नागरिकता बिधेयक र गृह मन्त्रालयको सर्कुलरले राष्ट्रियताको धज्जी उठाएको छ ।’
निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने, भ्रष्टाचारीलाई प्रसय दिने, राष्ट्रियता बिरुद्धमा नागरिकता बिधेयक ल्याउने कामले सरकार असफल भएको भनाई राख्नुभयो ।
रिपोटर्स क्लवले बिहिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रियताको आडमा कम्युनिष्ट सरकार बनेपनि सरकारमा गएपछि राष्ट्रियता हराएको आरोप समेत लगाउनु भयो । उहाँले नेपालको रााष्ट्रियता, सार्बभौमिकता र अखण्डतामा भारतीय बिस्तारबादबाट खतरा रहेको दावी गर्नुभयो ।
सिके राउतसंग सरकारले सहमति गरेर शान्तिको बाटोमा ल्याउनु सकारात्मक भएपनि राष्ट्रियताका बिषयमा जनमत संग्रह गर्न नहुने बताउँदै उहाँले नेकपा माओवादीको बिप्लवलाई आफ्नो पार्टीको एजेण्डा प्रष्ट गर्न आग्रह गर्नुभयो ।