रुपन्देहीमा काँग्रेसका सुभेच्छुक संस्थाको समेत कार्यक्रम स्थगित

1.3K

रुपन्देहीमा काँग्रेसका सुभेच्छुक संस्थाको समेत कार्यक्रम स्थगित

बुटवल, १४ बैशाख । यहि बैशाखको १८ र १९ गते नेपाली काँग्रेस रुपन्देहीले जिल्ला सम्मेलनको तयारी गरेको थियो । त्यस्तै यसै बिचमा जिल्लामा नेपाली काँग्रेसका कतिपय वडा, गाउँ÷नगर तथा क्षेत्रीय समितिले सम्मेलन गरिसकेका थिए भने कतिपयले तयारी गरेका थिए । त्यस्तै नेपाली काँग्रेसका भातृ तथा सुभेच्छुक संस्थाहरुको समेत बिभिन्न किसिमका कार्यक्रम तय भएका थिए । जस्तै नेपाल ट्रेड युनियन काँग्रेस र त्यसका आवद्ध संस्थाहरुले मई दिवसको कार्यक्रम तय गरेका थिए । नेपाल मुस्लिम संघले पनि प्रदेश स्तरीय आम सभा कार्यक्रम तय गरेको थियो ।

यहि बैशाखको १० गते नेपाली काँग्रेसका नेता केन्द्रीय समितिका पूर्व कोषाध्यक्ष तथा पूर्व मन्त्री रामकृष्ण ताम्राकारको निधन भएपछि यी सबै कार्यक्रम १३ दिनकालागि स्थगित भएका छन् । नेपाली काँग्रेसको केन्द्रीय समितिले तीन दिनसम्म औपचारिक कार्यक्रम स्थगित गरेपनि जिल्ला समितिले भने उहाँको शोकमा १३ दिनसम्म औपचारिक कार्यक्रम स्थगित गरेको हो ।

जिल्लामा पार्टीको औपचारिक कार्यक्रम स्थगित भएपछि नेता ताम्राकारलाई श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ता दिनहुँ पार्टी कार्यालय जाने गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीले उहाँको सम्मानमा भैरहवा स्थित पार्टी कार्यालयमा उहाँको अस्तु, फोटो तथा शोक पुस्तिका राखेको छ । निधन भएको १३ औं दिनको दिन यहि बैशाख २२ गते डण्डा खोलामा अस्तु बिसर्जन तथा शोक सभा गरिने नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताउनु भयो ।

पार्टीका बिभिन्न इकाईले यस अंगाडी तय गरेको कार्यक्रम त्यसपछि पुनः मिति तय गरि कार्यक्रम गरिने उहाँले जानकारी गराउनु भयो । पार्टीका नेताको सम्मानकालागि पार्टी कार्यालयमा अस्तु राखिएको र पार्टी कार्यालयमा आएर श्रद्धाञ्जली अर्पण गर्नकालागि नेता कार्यकर्तालाई जिल्ला सभापति अब्दुल रज्जाकले आह्वान गर्नुभएको छ । नेपाली काँग्रेस रुपन्देहीको स्थगित जिल्ला अधिवेशन यहि बैशाखको ३० र ३१ गते गर्ने भन्ने विषयमा छलफल भईरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु आउने भएकाले केन्द्रीय नेताहरुसंग समेत यहि मितिमा छलफल भएको सचिव खाँणले बताउनु भयो ।

यसैबिच नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन यहि बैशाख १८ गते आयोजना गर्ने निर्णय गरेको मई दिवसको कार्यक्रम स्थगित गरेको छ । पूर्व उद्योगमन्त्री समेत रहनु भएका काँग्रेस नेता ताम्राकारको निधनका कारण पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तुलाराम गुरुङ्ले बताउनु भयो । त्यस्तै नेपाल ट्रेड युनियन काँग्रेसले आवद्ध संघहरुलाई मई दिवसको कार्यक्रम सहित नेता ताम्राकारको निधन भएको १३ औं दिनसम्म औपचारिक कार्यक्रम नगर्न आग्रह गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेसमा १८ वटा संस्था आवद्ध छन् ।

त्यस्तैगरी नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल मुस्लिम संघले यहि बैशाख १७ गते बुटवलको ट्राफिकचोकमा आयोजना गरेको प्रदेश स्तरीय आम सभा स्थगित गरेको छ । पार्टीका केन्द्रीय नेताको निधनमा नेपाली काँग्रेस रुपन्देहीले १३ दिनसम्म औपचारिक कार्यक्रम स्थगित गरेकाले मुस्लिम संघले बुटवलको ट्राफिकचोकमा आयोजना गरेको उक्त कार्यक्रम पनि स्थगित गरिएको कार्यक्रम संयोजक अब्दुल सहमदले जानकारी गराउनु भयो ।