सडक अनुशासन अभिबृद्धिकालागि प्रदेश पाँचमा ट्राफिक सप्ताह

1.3K

सडक अनुशासन अभिबृद्धिकालागि प्रदेश पाँचमा ट्राफिक सप्ताह

बुटवल, १४ बैशाख । सवारी दुर्घटनाबाट हुने मृत्यु घटाउने योजना सहित प्रदेश पाँचको ट्राफिक प्रहरीले शनिबारदेखि सडक सभ्यता अभिवृद्धि मुलक साताव्यापी कार्यक्रम शुरु गरेको छ । प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्नेगरी शनिबार बुटवलमा सडक सभ्यता (अनुशासन) अभिवृद्धि मुलक प्रभातफेरी सहित बिशेष समारोह गरिएको छ ।

प्रभात फेरी पश्चात ट्राफिक चोकमा भएको बिशेष समारोहमा बोल्दै प्रदेश पाँचका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस प्रदेशमा सवारी व्यवस्थापन र दुर्घटना न्यूनिकरणका लागि प्रदेश सरकारले केही दिनमा प्रदेश यातायात ऐन प्रदेश सभामा पेस गर्ने बताउनु भयोे ।

मन्त्री केसीले दुर्घटना न्यूनिकरणका लागि सरकारले प्रयाप्त वजेटको व्यवस्था गर्न लागेको बताउदै ट्राफिकको पुरानो कार्यशैलीमा समेत परिवर्तन जरुरी रहेको औल्याउनु भयो । उहाँले दुर्घटना पछि कसको गल्ती छ भन्ने कुरा पत्ता लगाउनका लागि प्रदेश सरकारले वर्दघाट देखि वर्दियासम्मको सडकमा सिसिटिभी जडान गरि निगरानी गर्ने समेत तयारी गरेको बताउनु भयो । मन्त्री केसीले प्रदेश पाँचमा संचालित सवारी साधनमा चढ्दा सुरक्षित रुपमा गन्तव्यमा पुगिन्छ भन्ने कुरालाई स्थापित गराउनु पर्नेमा जोड दिनु भयो ।

दुर्घटना न्यूनिकरणकालागि ट्राफिक प्रहरीले ‘ठाउँका ठाउँ सुधार’ अभियान सञ्चालन गर्नलागिएको प्रदेश पाँचका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) पिताम्बर अधिकारीले बताउनु भयो । मान्छेको व्यबहार सुधारलाई अपनाईएको ‘ठाउँका ठाउँ सुधार’ अभियान अन्तरगत ट्राफिक नियम विपरितका गतिबिधि गर्नेलाई तत्कालै समातेर सुधार गराउने तथा ट्राफिक नियमका बारेमा जानकारी गराईने उहाँले बताउनु भयो ।

यो प्रदेशमा सवारी दुर्घटनाका कारण हाल प्रतिमहिना ४८ जनाको ज्यान जाने गरेको छ । यो संख्यालाई घटाएर ३० मा झार्ने प्रहरीको लक्ष्य रहेको छ । सप्ताहमा रुपन्देही सहित प्रदेश अन्र्तगतका १२ वटै जिल्लामा दुर्घटना न्यूनिकरण गर्न चालक तथा सहचालकहरुलाई सडकमै सडक सुरक्षासम्वन्धी प्रशिक्षण दिनेदेखि विभिन्न सचेतना मुलक कार्यक्रम गरिने छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी निरिक्षक गंगा सारु लगायतले सप्ताहव्यापी कार्यक्रमले रिजल्ट ओरियन्टेट हुने गरि काम गरिने बताउनु भयो । त्यस अंगाडी निकालिएको प्रभातफेरी कार्यक्रममा क्रियाशिल संघसंस्था, बिद्यार्थी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।