वार्षिकोत्सवमा ओम बैंकद्वारा आश्रमलाई सहयोग

576

वार्षिकोत्सवमा ओम बैंकद्वारा आश्रमलाई सहयोग

बुटवल, १५ बैशाख । ओम डेभलपमेन्ट बैंक बुटवल शाखा स्थापना भएको दुई वर्ष पुरा भएको अवसरमा बैंकले मावन सेवा आश्रम बुटवलमा सहायता प्रदान गरेको छ । बैंकले शनिबार बुटवल सुख्खानगरमा रहेको आश्रममा एक कार्यक्रमका बिच करिव १ लाख रुपैंयाको एलईडी टिभि प्रदान गरेको हो । त्यस अवसरमा बैंकका क्षेत्रीय प्रवन्धक दुर्गाराम पुरी, बुटवल शाखा प्रवन्धक अर्जुन ज्ञवाली र बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उक्त टिभि संयुक्त रुपमा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्त्रण गर्नुभयो ।

आश्रममा आश्रय लिएका व्यक्तिहरुलाई मनोरञ्जन प्रदान गर्न सकियोस भन्ने आश्रमको आवश्यकताका आधारमा टिभि हस्तान्त्रण गरिएको बैंकका बुटवल शाखाका प्रवन्धक अर्जुन ज्ञवालीले जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले रुपन्देहीका संघसंस्थाबाट सामाजिक सेवामा उदाहरणीय काम हुँदै आएको बताउँदै मानव सेवा आश्रममा आश्रय लिएका व्यक्तिको सहायताकालागि आफूहरु तयार रहेको बताउनु भयो । उहाँले आश्रमकालागि जग्गा प्राप्ती तथा सञ्चालन नियमित बनाउनकालागि आफू र संस्थाले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै सुस्तमनस्थित बाल बिद्या मन्दिरका अध्यक्ष लोकनाथ भुसालले सरकारबाट निर्वाह गर्नुपर्ने दायित्व सामाजिक क्षेत्रबाट अघि बढाईएको भन्दै अव छिटै आश्रमकालागि जग्गा प्राप्ति हुनेमा विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा आश्रमका अध्यक्ष रामजी अधिकारीले नाथको बाँस भएको देशमा अनाथ भएर सडकमा बस्न नपरोस भनेर थालिएको अभियानमा सहयोगी हातहरुका माध्यमबाट आश्रम सञ्चालन हुँदै आएको र आगामी दिनमा पनि यस्तै सहयोगका लागि आग्रह गर्नुभयो ।

बुटवलको आश्रम रहेको टोल बिकास संस्थाका अध्यक्ष बेदप्रकाश पुनले आश्रमका माध्यमबाट समाजमा उदाहरणीय काम भएको बताउँदै यो काममा सरकारले पूर्ण सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा समाजसेवी कृष्ण पंगेनी, आश्रमकी प्रदेश पाँच संयोजक रुपा केसी लगायतले भनाई राख्नुभएको थियो ।